निजामती सेवा र यसका चुनौती
सार्वजनिक व्यवस्थापन संचालनको मुख्य संयन्त्र निजामती सेवा हो। गैरसैनिक चरित्रको, स्थायी संयन्त्र, अविछिन्न रुपमा सेवामा समर्पित सेवाप्रदायक र सेवाग्राहीको सम्बन्ध सेतु निजामती सेवा हो। सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा समान व्यवहार, तटस्थ, वैधानिक तवरले निरन्तर र उरत्दायित्व र पारदर्शी कार्य शैलिका साथ सेवा प्रवाह गर्ने मियो संयन्त्र निजामती सेवा हो। नेपालको संविधानको धारा २४३ अनुसार निजमाति सेवाको पद भन्नाले “सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवा वा पद तथा निजामती सेवाको पद हैन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक सबै निजामती सेवा हुन।
निजामती सेवाको सुरुवात चिनमा भएतापनि, सन् १७७५ मा इष्ट इण्डिया कम्पनीमा काम गर्ने गैरसैनिक कर्मचारीको सेवालाई निजामती सेवा भन्न थालिएको। बेलायतमा सन् १८५४ को नर्थकोट ट्रेभेलन रिपोर्ट अनुसार संरक्षणवादी प्रणालीको अन्त्यपछि योग्यता प्रणालीमा आधारित निजामती सेवाको प्रारम्भ भएको तथा अमेरिकामा लुट प्रणालीको अन्त्य भएपछि आधुनिक निजामती सेवाको सुरुवात भएको पाईन्छ। नेपालमा वि.सं. २००८ सालमा पब्लिक सर्भिस कमिसनको नामले लोकसेवा आयोगको स्थापना भयो भने वि.सं. २०१३ सालमा निजामती सेवा ऐन प्रारम्भ भयो जस अनुसार वि.सं. २०१५ सालबाट निजामती सेवामा प्रतिस्प्रधात्मक परीक्षाको आधारमा स्थायी कर्मचारी भर्ना गर्ने कार्यबाट नेपालमा आधुनिक निजामती सेवाको सुरुवात भएको मानिन्छ।
लोकतानत्रिक राज्यमा लोककल्याणकारी भुमिका प्रवर्द्धन गर्दै सरकारको भूमिकाको विश्लेषण निजामती सेवाको माध्यमबाट गरिन्छ। भनिन्छ, कुनै पनि देशको सरकार त्यो देशको निजामती सेवा भन्दा राम्रो हुन सक्दैन, सरकारलाई सेवाप्रवाहको माध्यमबाट जनतामाझ चिनाउने, बुझाउने, जनसन्तुष्टि र जनस्वामित्वको आधार निर्माण निजामती सेवाले गर्दछ। सिमित स्रोत र साधनको अधिकतम प्रयोगबाट नतिजामुखि कार्यसम्पादन गर्दागर्दै पनि बेलाबेलामा उच्च पदस्थ राजनीतिज्ञबाट, कर्मचारीबाट ठुटे, थाङ्ने, भुत्, कामचोर, जस्ता अपशव्द सार्वजनिक मिडियामा आइरहन्छन् हुनत सर्पले आफ्नो खुट्टा देख्दैन भनेझैँ कर्मचारीको बुझाइ त्यही स्तरको भयो भने हुनुपर्ने परिवर्तन, व्यवहारगत, समायानुकुल सुधार नभइ “हाकिमी” शैलीले निरन्तरता पाउने गर्दछ भने त्यसको सोझो प्रभाव नागरिकमा सेवा सहज ,सरल र गुणस्तरिय तरिकाबाट पाउनुपर्ने नैसर्गिक अधिकारमा चोट पर्ने देखिन्छ। लोककल्याणकारी राज्यको भावना, मुलुकले लिएको दीर्घकालिन लक्ष्य, संवैधानिक मुल्य मान्यता, शासनमा आएको नवप्रवर्द्धनकारी भूमिका तथा सेवाप्रवाहको नवीनतम माध्यमबाट सेवा mapping का आधारमा निजामती कर्मचारीमा “We must put people at the centre”लाई आधार लिई सेवा प्रवाह गरिनुपर्दछ।
केहि समय एउटा कार्यालयमा विशेष कामका लागि जाँदै गर्दा सुरुवातमै अलमलियो, सामान्य सिफारिसका लागि कार्यालय प्रमुखलाई भेट्न १ नम्बर देखि २ नम्बर हुँदै ३ र ४ नम्बरसम्म जादाँ मात्र कार्यालय प्रमुखको कार्यकक्ष भेटियो, कार्यकक्षमा प्रवेस गर्ने वित्तिकै नमस्कारको जवाफ रवाफ शैलिमा प्रस्तुत भयो, सेवाप्रदायकलाई सेवाग्राहीसँग गरिने व्यवहारगत आचारण तथा कार्यालयबाट प्रवाह हुने शैली, सेवाग्राहीको आकांक्षा र मागलाई उचित सम्बोधन गरिनु आजको निजामती सेवाको प्रमुख चुनौती हो।
यातयात कार्यालयको लाईन होस् या मालपोतको भिड अनलाइन प्रणालीको विकास भइरहँदा पनि कर तिर्न लाग्नुपर्ने भिडले सेवाग्राहीमा सेवाप्रतिको बुझाइ तथा सेवाप्रदायकमा समयानुकुल प्रविधिगत क्षेत्रमा सुधार नहुनु, सुचना तथा संचार प्रविधिको अधिकतम प्रयोग नगरिनु निजामती सेवामा विधुतीय शासनमाथिकै चुनौती हो।
सार्वजनिक व्यवस्थापनमा आएका नवीनतम सोचका रुपमा नयाँ सार्वजनिक व्यवस्थापन, नयाँ सार्वजनिक सेवा, नयाँ सार्वजनिक शासन तथा सुशासनका अबधारणाले सार्थकता नपाउनु, एउटै प्रकृतिको काम पनि नीजि क्षेत्रले गर्दा एकैदिनमा हुने तथा सरकारी सेवामा महिनौँ लाग्नुले, निजामती सेवाको प्रतिस्पर्धात्मक क्षमतामा कमी, प्रकृयामुखी तथा नतिजामुखी नहुँनु निजामती सेवामा देखिएको चुनौती हो।
सेवाग्राहीमा समेत अनुचित दवाव, प्रभाव तथा भनसुन गर्ने कुटपिट, गालिगौलज गर्दै धम्काउने, सेवाग्राहीको अध्ययन अनुसन्धानमा कमी भई सचेतनामा कमी, विविधता व्वस्थापन गर्न कठीनाइ समेत निजामती सेवाको चुनौती हो। निजामती सेवा र राजनीति दुबै सरकार संचालनका आधार हुन, राजनीतिक तटस्थता तथा व्यावसायिक प्रतिबद्दता निजामती सेवाको गुण हो।स्थायी सरकारको रुपमा अविछिन्न सेवामा समर्पित भइरहदाँ राजनीतिक दवाद र प्रभावका आधारमा सेवा प्रवाह गर्दा तटस्थ, समावेशी, समानुपातिक, सामाजिक न्याय र समानतामा समेत असर गर्दछ।कर्मचारीलाई राजनीतिले धारबिनाको औजारको रुपमा प्रयोग गरिरहँदा कर्मचारीले पनि मुल्य र मान्यता सहितको धार सहितको हतियारको रुपमा आफुलाई अब्बल तुल्याउनु निजामती सेवाको अर्को चुनौती हो।
निजामती सेवामा देखिएको अर्को मुख्य चुनौती, सदाचार र नैतिकताको खडेरी हुनु हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको प्रतिवेदन तथा समयसमयमा राष्ट्रिय शतर्कताको अनुगमनका आधारमा देखिएका अनियमित, अनुचित तथा आचारण विपरितका कार्यले कुशासन मौलाएको देखिन्छ, यसर्थ सुशासनमैत्री सेवा प्रवाह गर्नु चुनौतीको रुपमा देखिन्छ।
पारदर्शिता तथा खुलापन कायम राख्नु, गरेको काममा सबैले देख्न र बुझ्न पाउने वातावरण निर्माण गरिनु, सुचनामैत्री कार्यसंस्कृतिको निर्माण गरिनु तथा गोपनीयताको नाममा खुला हुनुपर्ने विषय पनि खुला नराख्नु निजामती सेवाको चुनौती हो।
कार्यालय र व्यक्तिगत जीवनलाई सन्तुलन बनाउदै आफ्नो दायित्वमा नचुक्ने तथा पाउनुपर्ने सेवासुविधा नखुम्चिने संस्कारको विकास गरिनुपर्दछ। वृत्ति विकासको शिलशिलामा दुर्गम क्षेत्रमा कर्मचारी सरुवा हुन नमान्ने, सुगम छोड्न नमान्ने प्रवृत्ति सरुवा बढुवामा देखिने अपारदर्शी संस्कृतिको नीतिगत रुपमा समाधान गरिनु पनि निजामती सेवाको टड्कारो चुनौती हो।
“नागरिकको वरिपरि सेवा न की सेवाको वरिपरि नागरिक” भन्ने मुल आदर्शलाई निजामती सेवाले मुल्याङ्कन गर्दै स्वच्छ, निस्पक्ष, पारदर्शी सेवा प्रवाह गर्दै राज्यको प्रत्येक ठाउँमा उपस्थिति जनाउँन निजामती सेवा चतुर र गतिशिल हुँदै जानुपर्छ। सोका लागी निजामती सेवाको रुपमा विचारधिन निजामती सेवा ऐन, कानून, नीतिगत तथा संस्थागत प्रवन्ध गरी वर्तमान सरकारले लिएको ४ “स” अर्थात शान्ती, संविधान, सुशासन र सवृद्धको आधारतत्वका रुपमा निजामती सेवाको विकास गरिनु निर्विकल्प अबको आवश्यकता हो।
(लेखक आर.सि. पाैडेल, हाल नमोबुद्ध नगरपालिकामा कार्यरत हुनुहुन्छ ।)






