२०८१ फाल्गुन २ शुक्रबार १०

मेरो कल्पनाको देश- नेपाल

मेरो कल्पनामा नेपाल यस्तो बन्नुपर्छ ।

नेपाल स्वतन्त्र, सार्वभौमिक, भौगोलिक अखण्डता र जनतामा सार्वभौम अधिकार भएको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भएको, समावेशी लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।

यस्तो गौरवपूर्ण ईतिहास बोकेको राज्यमा अहिले दलाल भ्रष्टाचार, बेथिति र खराव कर्मचारीतन्त्रले देशलाई बर्बाद गरिराखेको छ । जनताले सेवा पाउन पनि कोही कसैको सिफारिस, घुस र चाकरी गर्नु पर्ने स्थिती छ । जनताले चुनिएर जनताको सेवक बनाउने कति राम्रो प्रणली छ तर खै ? ती सेवकहरु राक्षस बनेर निस्केको देख्छु । कर्मचारीतन्त्रमा त झन बेथितिको चाङ छ, जहा घण्टौ काम नगर्ने तर सुविधा धेरै लिने प्रवृत्ति हावि छ । लोकसेवाले पनि देशको सबै भूगोल पढ्न लगाउँछ तर नैतिकता, इमानदारिता र जिम्मेवारीको विषय राम्ररी पढ्न लगाएन की जस्तो लाग्छ ।

नेपालमा अब श्रम गर्ने श्रमिकहरुको र कर्मचारीहरुको काम गर्ने तरिका र काम लगाउने तरीका बदल्नु पर्ने देखिन्छ । काम गर्नु, मिहेनत गर्नु, अनि रमाईलो पनि गर्नु भन्ने प्रणाली लागु हुनु पर्दछ । प्रत्येक कर्मचारीले निश्चित समयभित्र आफ्नो जिम्मेवारी पूरा गर्ने, घण्टा प्रणालीमा पारिश्रमिक पाउने व्यबस्था हुनु पर्छ ।

सरकारको कस्तो निर्णय? एक्कासी सार्वजनिक बिदा । त्यो पनि कार्यालय समय शुरु भएसँगै जानकारी । अधिकांश कर्मचारी कार्यालयको गेटमा पुगेर फर्कनुपरेका । आवत जावत र समयको खर्च मात्रै तर उपलब्धी शून्य । देश भरिको कर्मचारीको एक दिनको तलव हिसाव गरौं त । देशलाई कति घाटा लाग्यो ? सायद नेपालमा जस्तो कर्मचारीहरुलाई बिदा दिएर तलव दिने प्रचलन सायदै देशमा होला । यो भनिराख्दा कर्मचारीहरुको उत्प्रेरणा तथा मनोबल कम हुने काम गरौं भन्न खोजेको हैन । काम र मिहेनत अनुसार आम्दानी प्रणाली लागु हुनुपर्छ भन्न खोजेको हो । काम गर्नेले अवसर पाओस् र काम नगर्नेले स्थान गुमाओस । परिवार पाल्न, आफ्नो जिवन चलाउन र देश बनाउन गरिने मिहेनतलाई प्रथमिकता दिनुपर्छ । नेपाललाई नेपाल देश जस्तो बनाउनको लागि दलाली, भ्रष्टाचार र दुई नम्बरी प्रवृत्तिलाई जरै देखी हटाउन जरुरी छ । जसले जे योग्दान गर्छ उस्ले त्यो बराबरको सम्मान र सुविधा पाओस् । राज्यले सबैलाई समान व्यवहार गरुन, सबैलाई एउटै कानून लागुहोस् । प्रत्येक नागरिकले गर्वका साथ भन्न सकोस् की हामी इमान्दार छौं र हाम्रो देश इमान्दार छ ।

मेरो कल्पनामा नेपाल यस्तो होस्, जहाँ पोखरा लगायतका ठाउँ घुम्न जानको लागि मैले मेरो गाउँको कुनै फर्ममा घण्टा प्रणली अनुसार एक हप्ता काम गर्न पाइयोस् । मुस्ताङ , पाथिभरा, इलाम, लुम्बिनी, सोलु, जिरी हिमाल आहा एक हप्ता काम गर्याे एक हप्ता घुम्न गयो । अनि परिवार पाल्नको लागि कम्तीमा मैले बर्षको यति घण्टा काम गर्नैपर्छ भन्ने होस् । मेरा छोराछोरी पढाउन मैले लाख पैसा जम्मा गर्नुपर्छ । बोर्डिङ स्कुल पढाउनु पर्छ भन्ने खालको भेदभावपूर्ण, दलालीपूर्ण शिक्षा नेपालमा नहोस्, औषधी उपचारको तनाव नहोस् । जसको लागि राज्यले पर्यटन, देशमा उत्पादित कृषि सामाग्रीबाट, हिमाली भेगकोको उनबाट बनेको गलैचा मण्डी, कपडाको उचित मुल्यमा युरोपको चिसो देशमा बेचेर आम्दानी गरोस, हिमालको जडिबुटी बेचोस्, हिमली मुहानको पानी बेचोस्, पानीबाट बिजुली उत्पादन गरी बेचोस् अनि धनी र गरीव बीचको खाडल पुरोस् । सबैमा देशप्रेमी भावना जागोस्, आफ्नै भूमीमा कर्म गरेर विश्वकै सुन्दर अनि लोभलाग्दो देश बनाउने कार्यमा प्रतिस्पर्धा होस् । आहा! मेरो देश ।

मेरो नेपालमा नेता, कर्मचारी र नागरिक सबै मिलेर काम गरुन, इमानदार श्रम, पारदर्शी शासन, र समानताको भावनाले भरिएको देशको निर्माण होस्, पर्यटकको हव बनोस, शैक्षिक गन्तव्यको देश बनोस्, शान्तिको देश बनोस्, बुद्धभुमी देश–बुद्धत्व प्राप्त गर्ने गन्तव्यको देश– बनोस्, धार्मिक गन्तव्यको देश बनोस् । यस्तो नेपाल होस्, जहाँ हरेक नागरिक गर्वसाथ भन्न सकुन्, म नेपाली र मेरो महान देश नेपाल ।

लेखकः कर्म लामा, नमोबुद्ध -३, काभ्रे ।

२०८१ मंसिर ५, बुधबार ११:४९ गते 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।