
मिति २०८१ साल असोज ३ गते नेपालमा संबिधान दिवस धुमधामले हर्षाेउल्लासका साथ मनाईएको छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखि जनताको सार्वभौम अधिकार र स्वशासनको अधिकारलाई आत्मासाथ गर्दै २०७२ साल असोज ३ गते नेपाल राजपत्रमा प्रकाशन र २०७२ फाल्गुन १६ गते प्रमाणीकरण र प्रकाशन भई लागु भएको संबिधानले देशलाई संघियतामा लग्यो सोहि संबिधान बमोजिम साविक श्यामपाटि मथुरापाटि फुलवारी, मेथिनकोट, कानुपर, खनालथोक, डराउनेपोखरी, पुरानगाउँ गा.वि.सहरु आपसमा मिली काशिखण्ड नगरपालिका हुदै हाल धार्मिक तथा पर्यटकीय नगरपालिकाका रुपमा परिचित नमोबुद्ध नगरपालिका बन्न पुगेको छ । यस नगरपालिका ऐतिहासिक, सास्कृतिक र धार्मिक सम्पदाले भरिपूर्ण छ । हाल यो नगरपालिका नमोबुद्धको ऐतिहासिक मन्दिर, गुम्बा, पौराणिक दाप्चाबजार, आधुनिक भकुण्डे बजार, काशिखण्ड फाट, पौराणिक इतिहास बोकेको भैरव कुण्ड, कानपुर कोट कालिका मन्दिर, काफ्लेथोकको हरेराम संकीर्तन मन्दिर, जगबैज्वेश्वर मन्दिर, बन्दै गरेको नयाँ छ्योर्देन, गुम्बा, माने, रोशीखोला, दाप्चा खोला लगायतको धार्मिक तथा प्राकृतिक सम्पदाको कारण पर्यटकीय गन्तब्यको रुपमा विकास हुदै गएको र पर्यटकीय क्षेत्रको ठुलो सम्भावना बोकेको नगरपालिका हो । यद्यपि यस नगरपालिकाको संवृद्धि र विकासका लागि ठुला चुनौतीहरु छन्, जसको समाधानले मात्र यस नगरपालिकालाई धार्मिक, आर्थिक, सामाजिक, र भौतिक रुपमा संबृद्ध बनाउन सकिन्छ ।
सम्भावनाहरुः
१. धार्मिक पर्यटकीय स्थलको रुपमा विकास
नमोबुद्ध नगरपालिका आफैमा एउटा धार्मिक तिर्थस्थलको नामबाट नामाकरण भएको नगरपालिका बौद्ध धर्मालम्बीहरुको लागि विशेष छ । यस नगरपालिकालाई हरेक सम्भावना भएको ठाउमा बुद्धको प्रतिमा, माने छ्योरदेन, गुम्बा, बनाउने, काफ्लेथोकमा रहेको हरेराम मन्दिर, जगबैज्वेश्वर मन्दिर, कोटकालिका मन्दिर, भैरव कुण्ड, बुचाकोट भगवती मन्दिर, डराउने पोखरी, दाप्चा भिमसेन मन्दिर, चरुवा सेती देवी मन्दिर, लगायतको धार्मिक स्थानहरुलाई व्यवस्थापन र प्रवर्दन गरी धार्मिक तिर्थस्थल र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने । विशेष गरी नेपाली मात्र नभएर चीन, भारत, भुटान, श्रीलंका लगायतका देशबाट आउने पर्यटकहरुको वृद्धिका लागि आधुनिक होटल, होमस्टेहरुको सुविधामा विकास गरी अन्तराष्ट्रिय बौद्ध सम्मेलनहरु गरी धार्मिक पर्यटनलाई प्रबर्दन र विकास गर्ने सम्भावना रहेको छ ।
२. Agro Tourism (कृषि पर्यटन)को विकास
नमोबुद्ध नगरपालिका नेपालको राजधानी काठमाण्डौंबाट करिव ५० किलोमिटरको दुरीको यात्रा पश्चात पुग्न सकिन्छ । अहिलेको आधुनिक जमानाका मानिसहरु खाने, रमाउने र शान्त वातावरणमा प्राकृतिक आनन्द लिन रुचाउन थालेका छन् । सहरको उकुस-मुकुस धुवा-धुलोबाट केहि दिनको लागि शान्त वातावरणमा बस्न उपयुक्त गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । जैविक कृषि, स्थानीय उत्पादन, पारस्परिक खेती प्रणाली, फलफुल खेती, अर्गानीक सागपात, तरकारी, आफै टिपेर बनाउने, र स्थानीय उत्पादनहरुको स्वाद लिने, कृषि अनुभव लिने जस्ता कुराहरुको विकास र प्रवर्दन गरेर पर्यटनमा योग्दान पुर्याउन सक्छ । यसका लागि शान्त एवं आकर्षक होमस्टे सहितको कृषि फर्महरुको अवधारणा लिने र जैविक उत्पादनलाई सहर तथा विदेशी बजारमा निर्यातको माध्यम बनाउन कृषि पर्यटनले मद्धत गर्नेछ भने जसको कारणबाट स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन समेत मद्दत गर्नेछ ।
३. शैक्षिक पर्यटन र अनुसन्धान केन्द्रहरु
नमोबुद्ध नगरपालिकामा धार्मिक, सांस्कृतिक पौराणीक, कृषि, पर्यटन, र पर्यावरणीय महत्वको अध्ययन गर्नको लागि अनुसन्धान केन्द्रहरु स्थापना गर्ने ठुलो सम्भावना छ । यसका साथ साथै विदेशी विश्वविद्यालयहरु र बौद्ध अध्ययन केन्द्रहरुलाई यहाँ आकर्षित गरेर शैक्षिक पर्यटनको प्रवर्दन गर्न सकिन्छ । बौद्ध धर्म, पौराणीक कला, संस्कृति र कृषि अनुसन्धान, जस्ता अध्ययनको पाठ्यक्रमको विकासले स्थानीय शिक्षालाई समेत बलियो बनाउन सक्छ ।
४. स्वास्थ र ध्यान केन्द्रको रुपमा विकास
नमोबुद्ध नगरपालिका, महाभारत, रोशी, तेमाल गा.पा र रामेछाप सिन्धुली, ओखलढुङ्गा लगायतको क्षेत्रको नाका भएको कारणले गर्दा स्तरीय हस्पिटल, शान्त वातावरण र प्राकृतिक सौन्दर्यलाई ध्यानमा राखेर योग, ध्यान केन्द्र र आयुर्वेदिक उपचारको प्रवर्दन गरेर स्वास्थ पर्यटनको रुपमा पनि विकास गर्न सकिन्छ । नेपालमा नै बढ्दो स्वास्थ्य सचेतनाले पनि वेलनेस टुरिजमको लगानीमा ठुलो सम्भावना सिर्जना गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई योग र ध्यानको विशेष कोर्ष प्रदान गर्ने र दीर्घकालिन स्वास्थ्य शिविर सञ्चालन गर्न सकिन्छ ।
५. कृषि क्षेत्रलाई ग्रामिण विकाससँग जोड्ने
नमोबुद्ध नगरपालिकालाई आवश्यक सिंचाई प्रवर्दन गर्न रोशी खोला र दाप्चा खोलाको पानीलाई सदुपयोग गरी आधुनिक र व्यवसायिक कृषि प्रवर्दन गरी स्थानीय रोजगारी सिर्जना गर्ने, कृषिका लागी आवश्यक यातायातको विकासको लागि नमोबुद्ध नगरपालिका रिङरोडको अवधारणा ल्याउने, आवश्यक विद्युतीकरण विस्तारको लागि फर्म र गोठसम्म विद्युत लाईन जडान गरिदिने, स्थानीय पाठ्यक्रममा कृषि विषयलाई जोड दिने र हाट बजारको अवधारणा ल्याई विचौलिया व्यापारी निरुत्साहित गरी बजारीकरणको प्रवन्ध मिलाउने ।
चुनौतीहरु
१. शिक्षाको पहुँचमा कमी
“अज्ञानता दुःखको कारण हो’’ भगवान गौतम बुद्धको यस भनाईबाट पनि के प्रस्ट हुन्छ भने नमोबुद्ध नगरपालिका धेरै सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रमा दिगो विकास र स्थायी योजना र उद्देश्य बोकेको नेतृत्वको अभाव छ । त्यस्तो खालको नेतृत्व जन्माउनको लागि नगरको शिक्षा नीतिमा बैज्ञानीक परिमार्जन गर्न जरुरी देखिन्छ । हामीले भर्खर रोपेको विरुवामा राम्रो मलजल गरेनौ भने ठुलो भएपछि त्यो विरुवाले राम्रो फल दिदैन । हो, हाम्रो नगरको शिक्षा क्षेत्र मलजल नगरेको विरुवा जस्तै भएको छ । भौगोलिक रुपमा समस्या, विद्यालय क्षेत्रमा भएको चरम राजनीति, विद्यालय व्यवस्थापन समितिको परिवारलाई जागिर खुवाउने थलोको रुपमा प्रयोग गर्नु, शिक्षा क्षेत्रको अनविज्ञ व्यक्तिहरुलाई व्यवस्थापन समितिको नेतृत्व सुम्पन बाध्य हुनु आदि जस्ता चुनौतीहरु शिक्षा क्षेत्रमा छन् । स्थानीय सिपमुलक पाठ्यक्रमको विकास गर्ने, विज्ञ व्यक्तिको अभाव सँगसँगै प्रभावकारी स्थानीय शिक्षा नीतिको परिकल्पनाकारको अभाव रहनु यस क्षेत्रको मुख्य चुनौती रहेको छ ।
२. बेरोजगारी र दक्ष जनशक्ति पलायन
नमोबुद्ध नगरपालिका देशको प्रशासनिक क्षेत्रमा, सायित्य क्षेत्रमा धार्मिक क्षेत्रमा, निकै नै दिग्गज व्यक्तिहरुको जन्मथलो हो । यसमा हामीले गौरव गर्नुपर्छ तथापी नगरभित्र हामीले पछिल्लो समय सम्भावना र अवसरहरुको सिर्जना गर्न नसकेर नगरका दक्ष जनशक्तिहरु विदेश पलायन हुने, सहर केन्द्रित हुने, गाउँ नफर्किने र गाउँमा योग्यता र दक्षता नभएका व्यक्तिहरुको रजगजले गर्दा होनाहार व्यक्तिहरुले बसाई सराई नै गर्न सक्ने सम्मको वातारण रहेको छ । यस्ता खालका चुनौतीहरु समयमा नै अध्ययन गर्ने र समाधान गरेनौ भने यसले नमोबुद्ध नगरपालिकालाई ठुलो क्षति पुग्ने देखिन्छ ।
३. वातावरणीय र भौगोलिक समस्या
नमोबुद्ध नगरपालिका भौगोलिक हिसाबले डाँडै डाडाले बनेको नगर हो । यसैले धेरै जसो नगरका खेतीयोग्य जमिनहरु सुख्खा क्षेत्रमा पर्दछ । नगर विकासको लागि यो एउटा प्रमुख र विषेश चुनौतीको विषय हो । पर्यावरण र सार्वजनिक जमिनको संरक्षणको कमिले गर्दा यहाँको प्राकृतिक सम्पदा र वातावरणलाई दीर्घकालिन असर गरिरहेको छ । वन विनास, जलवायु परिवर्तन र असन्तुलीत सहरीकरण जस्ता समस्याहरु नगरपालिकाको लागि ठुलो चुनौतीका विषयहरु हुन् । वातावरणमैत्री विकास योजनाहरु अवलम्बन नगरेमा भविष्यामा ठुलो दुस्परिणाम भोग्नुपर्ने देखिन्छ ।
४. पुर्वाधारहरुको अभाव
नगरभित्र पर्यटकीय सम्भावना र धार्मिक तीर्थ स्थलहरु धेरै भएता पनि गुणस्तरीय पुर्वाधारहरुको कमीले गर्दा उपयोग गर्न कठिनाई भएको छ । सडक, यातायात, पानी, विजुली र प्राथमिक स्वास्थ्यको अभावले यहाँको दैनिकी र पर्यटन प्रवर्दनमा निक्कै नै असर पुगिरहेको छ ।
५. राजनैतीक विचलन
नगरपालिकामा स्थानीय सरकार आएपश्चात प्रभावकारी, योग्य, शिक्षित र दुरदर्शी नेतृत्वको अभाव स्थानीय जनताले राम्रोसँग अनुभव गरेको पाईन्छ । विकास निर्माणका योजनाहरु सामाजिक आवश्यकता भन्दा पनि कार्यकर्ता र व्यक्तिगत स्वार्थको लागि छुट्याईएको, वातावरणमैत्री र दुरदर्शीपना नरहेको पाईन्छ । कृषि सामाग्री, मल, विउ विजन, पशु चौपाया, ठुलै व्यक्तिगत स्वार्थ राखेर वितरण भएको जनगुनासो रहेको छ । स्कुल, स्वास्थ्य संस्था र प्रशासनिक क्षेत्रमा विना अध्ययन कर्मचारीहरु व्यवस्थापन गरिएको भन्ने सामाजिक सञ्जालमा छरपस्ट रहेको पाईन्छ । सार्वजनिक सरकार सञ्चालनको अभ्यास अनुरुप नगरमा बलियो प्रतिपक्ष रहेको दलहरु पनि गुमनाम रहेको भन्ने आरोप यत्रतत्र चियापसलको गफहरुमा सुन्न सकिन्छ । यस्तो विचलनबाट बच्नको लागि अब शिक्षित योग्य र दुरदर्शी युवा जनशक्तिले नगरको बागडोर सम्हाल्नुपर्ने आवश्यकता देखिन्छ ।
अब नगरपालिकाले दिगो र वातावरणमैत्री पुर्वाधार निर्माणमा जोड, बैज्ञानिक शिक्षा र स्वास्थ्यमा लगानी, रोजगारी सिर्जना, पर्यटन प्रवर्दनको लागि सामाजिक सञ्जालमा प्रचार प्रसार, भ्लगहरु बनाउने र प्रचारमा लगानी गर्ने , वातावरण संरक्षण, प्रभावकारी नीति निर्माण र कार्यन्वयन गरेर यस्ता चुनौतीहरुको समाधान गर्नु पर्ने देखिन्छ ।
निष्कर्षमा,
नमोबुद्ध नगरपालिकाले धार्मिक, साँस्कृतिक, पर्यटन, शिक्षा तथा कृषि क्षेत्रमा ठुलो सम्भावना बोकेको छ । यी सम्भावनाहरुलाई यथार्थमा बदल्नको लागि पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । यो नगरपालिका समृद्ध बनाउनको लागि दीर्घकालिन योजना, स्थानीय जनताको सहभागिता र सरकारी तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य छ ।
यदि यी चुनौतीहरुको सामना गर्दै सम्भावनाहरुलाई सहि ढङ्गले उपयोग गर्न सकियो भने नमोबुद्ध नगरपालिका छिट्टै नै एक आर्थिक, साँस्कृतिक, पर्यटकीय र शैक्षिक हवको रुपमा विकास हुन सक्छ ।
लेखकः कर्म लामा, हाल नेफ्स्कुनमा कार्यरत छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।