२०८३ बैशाख ४ शुक्रबार ०१

नमोबुद्धमा शिक्षक र प्रअका लागि डिजिटल शिक्षा तथा योजना निर्माण तालिम सम्पन्न

भकुण्डेबेशी ।

नमोबुद्ध नगरपालिका शिक्षा शाखाको आयोजनामा विद्यालयको शैक्षिक गुणस्तर सुधार र व्यवस्थापन क्षमतामा वृद्धि गर्ने उद्देश्यले दुई दिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र को निर्देशन अनुसार सञ्चालन गरिएको उक्त तालिममा नगरपालिकाभित्रका ३८ वटा विद्यालयका प्रधानाध्यापक (प्रअ) तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

२०८३ साल बैशाख २ र ३ गते सम्पन्न तालिममा विशेषगरी अनलाइन प्रणालीमा आधारित IEMIS (Integrated Education Management Information System) को प्रभावकारी प्रयोग तथा पाँच वर्षे विद्यालय सुधार योजना (SIP) निर्माण प्रक्रियाबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले व्यवहारिक अभ्याससहित डिजिटल प्रणालीको प्रयोग सिकेका थिए, जसले विद्यालय व्यवस्थापनलाई थप व्यवस्थित र तथ्यमा आधारित बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको सभापतित्व तथा नगर प्रमुख कुनसाङ लामा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले प्रविधिमैत्री शिक्षा प्रणाली विकास गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै यस्ता तालिमहरूले शिक्षक तथा विद्यालय नेतृत्वलाई थप सक्षम बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी, शिक्षा शाखाका अधिकृत रामबहादुर तामाङ तथा स्रोत व्यक्ति बीरेन्द्र सिंह साउदले सहजीकरण गर्दै IEMIS प्रणालीको प्रयोग, तथ्यांक व्यवस्थापन र दीर्घकालीन योजना निर्माणका व्यावहारिक पक्षहरू स्पष्ट पारेका थिए।

तालिमले विद्यालयहरूमा योजनाबद्ध विकास, पारदर्शी व्यवस्थापन तथा गुणस्तरीय शिक्षाको सुनिश्चिततामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

२०८३ बैशाख ३, बिहीबार २२:२८ गते 1 Minute 39 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार