२०८३ असार ४ बिहीबार २१

नमोबुद्ध नगरपालिकाद्वारा जनप्रतिनिधिको पहिलो वर्षको उपलब्धी सार्वजनिक (पूर्णपाठ सहित)

भकुण्डे।

स्थानीय तहको निर्वाचन २०७९, सम्पन्न भएको एक वर्ष पुरा भएको छ । गत २०७९ जेष्ठ ११ गते पद वहाली भएको एक वर्ष पूरा गरेको अवसरमा सो अवधीमा भएका केही उल्लेखनीय कामहरुको समिक्षा स्वरूप नमोबुद्ध नगरपालिकाले “जनताको सेवामा पहिलो वर्ष”  कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले एक वर्ष अघि जनतामाझ गरेका प्रतिबद्धता र कार्यन्वयनका बारेमा समिक्षा गर्दै केही उल्लेखनीय उपलब्धीहरु समेटिएको  “जनताको सेवामा पहिलो वर्ष” नामक पुस्तक सार्वजनिक गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले  जनताको सेवा, विकासका काममा नमोबुद्ध नगरपालिकाको पहिलो वर्ष अत्यन्तै उपलब्धिमूलक, विवादरहित र सफल रहेको बताए । सपथ ग्रहणको समयमा आफूले पेश्की स्वरुप बधाई तथा शुभकामना दिएको र एक वर्षको अवधिमा गरेको कामको समिक्षा गर्दा उल्लेखनीय काम देखिएकोले नगर प्रमुख तथा उप-प्रमुखसहित सम्पूर्ण जनप्रतिनिधिहरुमा पेश्की पर्छाैटसहित बधाई तथा शुभकामना ज्ञापन गरेका छन्।

कार्यक्रमका विशेष अतिथ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपाध्यक्ष रिम बहादुर तामाङ, नगर उप प्रमुख रत्न लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिना, नगर प्रवक्ता टिका बहादुर के.सी, वडा नं. ७ का अध्यक्ष धर्म सिं लामाले मन्तव्य राखेका थिए भने सबै वडाका अध्यक्षहरु, सदस्यहरू, जिल्ला संचारकर्मी, कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।

 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराज अर्यालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेका थिए ।

जनप्रतिनिधिहरुको पद वहाल भएको एक वर्षमा भएका उपलब्धिहरु यसप्रकार छन्:-

‘एक घर एक धारा’ अभियानकै रुपमा

नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गराउने उद्धेश्य अनुरुप ‘एक घर एक धारा’ अभियान सञ्चालन गरिएको छ । सुनकोशी खानेपानी आयोजना, भकुण्डेबेसी दाप्चा काशीखण्ड वृहत खानेपानी आयोजना, खनालथोक वृहत खानेपानी आयोजना, काशीखण्ड वृहत खानेपानी आयोजना, पार्कोट–टटलेटार खानेपानी आयोजना, ग्वाला डाँडा खानेपानी आयोजना, फ्याङ्ग खोला वृहत खानेपानी आयोजना, बासखर्क लाकईने कुईकेलगाउँ खानेपानी योजना, नमोबुद्ध वृहत खानेपानी आयोजना, कालिकादेवी भेडाबारी खानेपानी आयोजना, भष्मे खानेपानी आयोजना, छत्रेबाँझ दाप्चा खानेपानी आयोजना संचालन गरिएका छन् ।

महिला उद्यमीलाई उद्योग दर्ता निशुल्क

स्थिर पूँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने साथै महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्तो उद्योग वा फर्म नगरपालिकामा दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण छुट दिने कार्यको सुरुवात गरिएको छ । हाल सम्म सो नीति अनुसार ६९ वटा विभिन्न व्यवसायहरु दर्ता भएका छन् ।

निशुल्क स्वास्थ्य परिक्षण/निशुल्क औषधी

नमोबुद्ध नगरपालिकामा १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण सुरुवात गरिएको छ । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाइएको हो । परिक्षण गर्दा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधी समेत निशुल्क उपलव्ध गराइने छ । नगरपालिकाका ११ वटै वडाका विभिन्न १०७ स्थानबाट स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

बालमैत्री स्थानीय नगर अभियान

नमोबुद्ध नगरपालिकामा बालमैत्री स्थानीय शासन सुरुवात गरिएको छ । नगरपालिकाको टोली बालमैत्री स्थानीय शासन अध्ययन गर्न नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएको छ । फर्किए लगत्तै नगरपालिका स्तरीय बाल सञ्जालको बैठक बसेर विभिन्न कार्यक्रम तय गरिएका छन् । सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् । नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र ६ संस्थागत विद्यालयमा बालमैत्री सूचकहरुको अनुगमन समेत गरेको छ । सामुदायिक विद्यालयका बालमैत्री शिक्षक र नगरका कर्मचारीलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण सञ्चालन गरिएको छ । जनप्रतिनिधी र वडा सचिव, बाल क्लव सञ्जाल र समूहका बालबालिकालाई बालमैत्री अभियानबारे अभिमुखिकरण गरिसकिएको छ ।

नगरपालिकामा पहिलो शीत भण्डारण

नमोबुद्ध नगरपालिकामा कृषि उत्पादन भण्डारणका लागि कोल्ड स्टोर (शीत भण्डारण) निर्माण थालिएको छ । वडा नं ३ स्थित दाहालचौरमा निर्माण भएको उक्त शीत भण्डार सो क्षेत्रकै पहिलो हो । नमोबुद्धका अलाबा, छिमेकी रोशी, तेमाल, महाभारत गाउ“पालिकाका कृषक समेत लाभान्वित हुनेछन् । ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैंया लागत अनुमान तयार भएको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरिएको छ । प्रति च्याम्बर ३० मेट्रिकटनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफुल र अन्न भण्डारण गर्न सकिन्छ ।

घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता

नमोबुद्ध नगरपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा वितरण थालेको छ । नगरले पूर्ण अशक्त वर्ग, वैकिङ सेवासम्म पुग्न नसक्ने लाभग्राहीहरुलाई चौमासिक रुपमा भत्ता वितरण गर्न वित्तीय संस्थाहरुस“ग समन्वय र सहकार्य गरी घरदैलोमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ ।

राजमार्गमा फोहोर फाले कार्वाही

नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई कार्वाही गर्न थालेको छ । नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले कार्वाही गर्ने निर्णयसहित सचेत गराएको छ । नगरपालिकाले वीपी राजमार्ग सरसफाई अभियान सञ्चालन गरिरहेको छ ।

योजनावद्ध विकास प्राथमिकतामा

नमोबुद्ध नगरपालिकाले योजनावद्ध विकासलाई प्राथमिकतामा राखेको छ । आवद्यिक योजना योजना बैंक तयार गरेर विकास आयोजनाहरु सञ्चालन गर्न लागेको हो । रणनैतिक कृषि योजना पनि तयार गरेको छ । ‘कृषि, व्यापार र पर्यटनः हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गरेको हो । रणनैतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउने लगायतका योजना समावेश हुनेछन् ।

नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिको १ बर्षे उपलब्धीको (पूर्णपाठ) 

कार्यक्रमका केही तस्वीरहरू

२०८० जेष्ठ ११, बिहीबार २१:०५ गते 1 Minute 1164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।