२०८३ बैशाख १६ बुधबार १७

बादललाई सरप्राइजः श्रीमती नैनकला थापा सञ्चार मन्त्रीमा नियुक्त

काठमाडौं ।

नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले नेकपा एमालेमा आफ्नो समूहका सदस्यहरूलाई बिहीबार मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएकी छन्। उनी पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती हुन्। सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद रहेका बादलको पद खारेज भएको थियो।

नेकपा एकता खारेज भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बादललाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाउन खोजेका थिए। तर बागमती प्रदेश सभामा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गएको थियो।

माओवादी छाडेर आफूतिर आएका बादललाई पुरस्कारस्वरूप प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन्।

सञ्चारमन्त्री बनेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन्। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद भएकी थिइनन्।

माओवादी नेताका सबै जीवनसाथी भूमिगत हुने नीतिअनुसार थापा २०५२ सालमा भूमिगत भएको माओवादी केन्द्रका एक नेताले बताए।

‘नैनकलाजी भूमिगत हुनुभएकै हो। तर उहाँ पार्टीको सक्रिय पदमा रहनुभएन। नेताहरूमा सांस्कृतिक विचलन नआओस् भनेर नेताका श्रीमतीहरू पनि भूमिगत हुनैपर्ने पार्टीको नीति थियो,’ ती नेताले भने, ‘नैनकलाजीको जनयुद्धमा योगदान थिएन भन्दा त अन्याय हुन्छ। तर उहाँभन्दा धेरै क्षमतावान् व्यक्तिहरू मन्त्री बन्न योग्य थिए। रघुवीरका श्रीमान्-श्रीमती आलोपालो मन्त्री भएजस्तै होला बादलजीको पनि।’

माओवादी युद्धमा हुँदा उनी महिला संघकी अध्यक्ष थिइन्। उनी पार्टीको कार्यकारिणी कमिटीमा भने एकपटक पनि पुगिनन्। उनी केन्द्रीय सल्लाहकार समितिको सदस्य भने भएकी थिइन्।

 

 

 

स्रोतः सेतोपाटी

२०७८ जेष्ठ २७, बिहीबार ०८:११ गते 1 Minute 478 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार