२०८३ बैशाख १६ बुधबार १३

मदिरा बेच्दै कोरोना संक्रमित, १२० लिटर घरेलु मदिरा नष्ट

भकुण्डेबेशी ।

नमोबुद्ध नगरपालिकामा कोभिड १९ पोजेटिभ रहेका व्यक्तिबाटै अवैधरुपमा बिक्री वितरण भइरहेको घरेलु मदिरा नष्ट गरिएको छ । नमोबुद्ध नगरपालिका ४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा आज बुधबार बरामद गरी नष्ट गरिएको हो । उक्त परिवारका सदस्यहरुमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमित हुँदाहुँदै घरेलु मदिरा बिक्री गरिरहेको सूचनाको आधारमा नमोबुद्ध नगरपालिका, वडा कार्यालय र प्रहरीचौकी भकुण्डेको टोली अनुगमनमा गई १२० लिटर घरेलु मदिरा बरामद गरी प्रहरी चौकी भकुण्डेमा नष्ट गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिएका छन् ।

टोलीमा नमोबुद्ध नगरपालिका ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले, प्रहरी चौकी भकुण्डेका इन्चार्ज अशोक महतो लगायत सहभागी थिए । मदिरा बिक्री गर्ने उक्त परिवारका सदस्यलाई भने आइन्दा अवैधानिक कार्य नगर्ने चेतावनीसहित छाडिएको छ ।

नगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञाको उल्लंघन गर्दै अवैधरुपमा मदिरा बिक्री वितरण गर्ने गरेको सूचना आएको र त्यसको अनुगमन तीब्र बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । नगरपालिकाले कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिलाई होम आइसोलेसनमा बस्न र कुनै स्वास्थ्य समस्या भए नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्दै आइरहेको छ । स्वासप्रस्वास लगायत सवास्थ्य समस्या भएका बिरामीका लागि नगरपालिकाले जनक बहुमुखी क्याम्पसमा आइसोलेसनको व्यवस्थासमेत गरेको छ ।

यसैबीच, नमोबुद्ध नगरपालिकाले नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डे बजारमा अनुगमन तीब्र बनाएको छ । प्रहरीसहित नगरपालिकाको टोलीले जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तीब्र बनाएको हो ।

नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञालाई पूर्णरुपमा पालना गर्न नगरभित्रका व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐनअनुसार कार्बाही हुने व्यवस्था गरिएको छ ।

२०७८ जेष्ठ २६, बुधबार १०:१२ गते 0 Minutes 949 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार