२०८३ बैशाख १६ बुधबार १३

बेलायती सांसदमा नेपाललाई खोप उपलब्ध गराउन दबाब

काठमाडौँ  ।

नेपाललाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन बेलायतका सांसदहरूले विदेशमन्त्री डोमिनिक रावलाई दबाब दिएका छन् । केही हप्ताअघि पनि सांसदहरूले बेलायतको संसद्मै नेपाललाई खोप सहायताका लागि आवाज उठाएका थिए ।

त्यसपछि पनि कुनै पहल नभएपछि विभिन्न राजनीतिक दलमा आबद्ध १६ जना सांसदले संयुक्त रूपमा पत्र लेखेर विदेशमन्त्री रावलाई खोप तत्काल उपलब्ध गराउन माग गरेका हुन् ।

दुई प्रमुख बुँदा उल्लेख गर्दै सांसदहरूले पहिलो बुँदामा छिटोभन्दा छिटो नेपालका लागि खोप उपलब्ध गराउन माग गरेका छन् । त्यस्तै दोस्रो बुँदामा कोभिडको दोस्रो लहरको सामना गरिरहेको नेपालका लागि अत्यावश्यकीय चिकित्सा सहयोग समेत जरुरी रहेको औँल्याउँदै बेलायती सांसदहरूले त्यस्ता सामग्री पनि सहयोग गर्न पत्रमार्फत भनेका छन् ।

दोस्रो बुँदाअन्तर्गत चिकित्सा सामग्रीलगायत चिकित्सा उपकरणहरू अक्सिजन जेनेरेटर, अक्सिजन कन्सन्ट्रेटर, थेरापिउटिक ड्रग्सलगायत पनि उपलब्ध गराउन भनेका हुन् । विश्वमै उच्च कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा मानवीय सङ्कट उत्पन्न भएको दर्शाउँदै सांसदहरूले यस्तो बेला बेलायती सरकारले नेपाल सरकारको आग्रहको सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । यस्तो कठिन समयमा पनि बेलायतले आफ्नो मित्रराष्ट्रलाई सहयोग गर्न धेरै ढिला गरेको भन्दै पत्रमा असन्तुष्टि प्रकट गरिएको छ ।

नेपाल सरकारका तर्फबाट गार्डियन पत्रिकामार्फत प्रधानमन्त्री ओलीले गर्नुभएको सहयोगको याचना र औपचारिक कूटनीतिक माध्यमबाट भएको कुराकानीमा पनि खोप उपलब्ध गराउने विषयमा छलफल भएको स्मरण सांसदहरूले पत्रमार्फत गराएका छन् ।

भारतमार्फत २० लाख खोप कोभ्याक्स सुविधामार्फत दिलाउनु मात्र सङ्कटको समस्या समाधान गर्नु नरहेको उल्लेख गर्दै अब त्यो सुविधाको खोप उपलब्ध गराउन भारतले नसक्ने र बेलायतबाट पनि ढिला भएकाले आफ्ना राज्यमा बाँडिने खोप कटौती गरेर भए पनि खोप सहयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

तथापि यसै साता बेलायती सेनाको चिकित्सकीय टोली नेपाल पुग्न लागेको कुराको भने उनीहरूले स्वागत गरेका छन् ।
बेलायतको कठिन सङ्घर्षको समयमा नेपालको गोर्खा सैनिकले गरेको योगदान बिर्सन नहुने भन्दै दुई देशको लामो समयको मित्रतालाई सुमधुर बनाउन पनि सङ्कटका बेलामा सहयोग गर्नुपर्ने उनीहरूले उल्लेख गरेका छन् ।

 

 

स्रोतः गोरखापत्र अनलाइन

२०७८ जेष्ठ २६, बुधबार ०३:१७ गते 1 Minute 602 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार