२०८३ बैशाख १६ बुधबार १५

प्रदेश नम्बर १ मा बजेट अधिवेशन आजदेखि

प्रदेश नम्बर १ संसद्को आठौं तथा बर्खे अधिवेशन आज सुरु हुँदैछ।

कोरोना महामारी कारण देखाउँदै अध्यादेशबाट बजेट ल्याउने तयारीमा रहेको प्रदेश १ सरकार विपक्षीहरुको तीव्र दबाबका कारण संसद् अधिवेशन आह्वान गर्न बाध्य बनेको थियो।

सोमबार दिउँसो दुई बजे बैठक बस्नेछ। यो अधिवेशनमा  प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ।

यसअघि वैशाख ५ मा प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन विपक्षी अवरोधकै बीचमा टुंगिएको थियो। अधिवेशनका आठ वटा बैठकमध्ये मुख्यमन्त्री शेरधन राई अन्तिम बैठकमा मात्रै संसदमा सहभागी बनेका थिए।

प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ। त्यसको १५ दिन अगावै प्रि-बजेट छलफल सक्नुपर्ने कानुनी प्रबन्ध छ। तर, यसपटक प्रि-बजेट छलफल छोटो अवधिमै सक्ने गरी सरकारले अध्यादेश ल्याएको छ।

सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी सुरु गरेपछि प्रदेशका विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा चेतावनी दिएका थिए।

उनीहरुले प्रदेश प्रमुखलाई भेटेर पनि अधिवेशन बोलाउन सरकारलाई सम्झाउन आग्रह गरेका थिए। लगत्तै मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक राखेर बजेट संसद्बाटै ल्याउने बताएका थिए।

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव, सत्तापक्षकै अगुवाइमा संसद् अवरोध र बहिष्कारकाबीच  हिउँदे अधिवेशनमा कुनै पनि विधेयक पारित हुन सकेन ।

हालसम्म प्रदेश १ संसद्बाट पाँच संशोधन ऐन, दुई संसद् नियमावलीसहित ५६ वटा विधेयक पारित भइसकेको छ।

प्रदेशको राजधानी तोके पनि नामकरण भने बाँकी नै छ।

 

 

स्रोतः सेतोपाटी

२०७८ जेष्ठ २४, सोमबार ०३:०२ गते 1 Minute 396 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार