२०८३ बैशाख १६ बुधबार ०७

मतदाता नामावली जाँच्न कल सेन्टरमा नागरिकको चासो बढ्दो

काठमाडौँ ।
निर्वाचन आयोग
ले सञ्चालन गरेको कल सेन्टरमा मतदाता नामावलीसम्बन्धी जिज्ञासा सबैभन्दा बढी आएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार नामावलीमा नाम दर्ता भए–नभएको विषयमा नागरिकले धेरै सोधपुछ गरेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोगले माघ ५ गतेदेखि कल सेन्टर सञ्चालनमा ल्याएको हो। आयोग परिसरबाट सञ्चालन भइरहेको कल सेन्टरमार्फत मतदाता तथा सरोकारवालाका निर्वाचनसम्बन्धी जिज्ञासाको जवाफ दिइँदै आएको छ।

हिजो आइतबारसम्म कल सेन्टरमा ८८२ जनाले विभिन्न विषयमा जिज्ञासा राखेका छन्। तीमध्ये मतदाता नामावलीसम्बन्धी ४२०, निर्वाचन आचारसंहितासम्बन्धी ७२, मतदाता शिक्षासम्बन्धी ३६ तथा अन्य २६४ जिज्ञासाको सम्बोधन गरिएको आयोगले जनाएको छ।

कल सेन्टर बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने गरेको छ। निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक तथा सरोकारवाले जिज्ञासा राख्न सक्नेछन्। एकै पटक १५ जनासम्मले फोन गर्दा पनि कल होल्डमा नपर्ने व्यवस्था गरिएको छ।

निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण नभएसम्म कल सेन्टर सञ्चालनमा रहने सहायक प्रवक्ता जिसीले जानकारी दिए।

२०८२ माघ १२, सोमबार २१:२७ गते 0 Minutes 86 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार