काठमाडौँ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित विभिन्न उम्मेदवार र निकायहरूसँग स्पष्टीकरण मागेको छ। सरकारी स्रोतको दुरुपयोग, निषेधित गतिविधि तथा असंवेदनशील प्रचारप्रसारमा संलग्न भएको उजुरीका आधारमा आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो।

मुख्यमन्त्री कार्कीले आयोगको पूर्वस्वीकृति बिना सरकारी साधन प्रयोग गरी उम्मेदवार मनोनयनका क्रममा झापा पुगेको आरोप लगाइएको छ। सार्वजनिक पदमा बहाल व्यक्तिले निर्वाचन प्रचार वा मनोनयनमा सरकारी संयन्त्र प्रयोग गर्न नपाउने आचारसंहिता उल्लङ्घन भएको भन्दै उहाँसँग माघ ७ गते स्पष्टीकरण सोधिएको हो, तर हालसम्म जवाफ प्राप्त भएको छैन।
यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट राप्रपाका उम्मेदवार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई लैङ्गिक तथा सामाजिक संवेदनशीलतामा आँच पुग्ने अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण मागिएको छ। जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतमाथि नगद वितरण गरेको भिडियो सार्वजनिक भएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ।
त्यस्तै, बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरेको उजुरीपछि उम्मेदवार हर्क साङ्पाङसँग पनि आयोगले जवाफ मागेको छ। दोलखाका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले भने स्पष्टीकरण पेस गरिसकेका छन्। आयोगका अनुसार उहाँको जवाफ चित्तबुझ्दो रहेकाले सचेत गराउँदै थप उल्लङ्घन नगर्न निर्देशन दिइएको छ।
आयोगले अखिल नेपाल फुटबल सङ्घ र राष्ट्रिय खेलकुद परिषद्लाई पनि निर्वाचन अवधिमा कार्यक्रम आयोजना गरेको विषयमा स्पष्टीकरण सोधेको भए पनि दुवै निकायबाट हालसम्म जवाफ आएको छैन।
माघ ४ गतेदेखि माघ ११ गतेसम्म आठवटा उजुरीका आधारमा आठ जनासँग स्पष्टीकरण मागिएको आयोगले जनाएको छ। अधिकांश उम्मेदवार र पदाधिकारीबाट समयमै जवाफ नआएको भन्दै आयोगले आचारसंहिता कडाइका साथ पालना गर्न र उल्लङ्घन भए निर्वाचन ऐनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।






