काठमाडौँ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहस गर्न आफू ‘बिल्कुल तयार’ रहेको बताएका छन्।

शनिबार च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीका आकांक्षीहरूबीच ओपन लाइभ डिबेट हुनुपर्ने बताए। “किन प्रधानमन्त्री बन्ने ? के योजना छन् ?” जस्ता विषयमा जनतामाझ खुला छलफल आवश्यक रहेको ओलीको भनाइ थियो। बहसका लागि तयार हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले दृढतापूर्वक ‘बिल्कुल’ भने।
आगामी निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरूले प्रधानमन्त्रीका उम्मेदवार सार्वजनिक गरिसकेका छन्। नेकपा एमाले ले ओलीलाई नै अघि सारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ले काठमाडौंका पूर्वमेयर बालेन शाह लाई उम्मेदवार बनाएको छ। त्यस्तै, नेपाली कांग्रेसले सभापति गगन थापा लाई प्रधानमन्त्रीका रूपमा उभ्याएको छ।
ओली र बालेन शाह झापा–५ बाट उम्मेदवार बनेका छन् भने गगन थापाले सर्लाही–४ रोजेका छन्।
निर्वाचनअघि प्रधानमन्त्रीका उम्मेदवारहरूबीच यस्तो सार्वजनिक बहस हुनु नेपालका लागि नयाँ अभ्यास हुन सक्छ।






