काभ्रेपलाञ्चोक ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सचेत गराएको छ। मतदाताको घरदैलो अभियान सुरु हुनुअघि नै आचारसंहिताबारे सचेत गराउन आयोगले सरोकारवालासँग छलफल गरेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलमा आयोजित छलफल कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, कर्मचारी, गैरसरकारी संस्था, सञ्चारमाध्यमलगायत सरोकारवाला सहभागी थिए। छलफलमा निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउन आचारसंहिताको पूर्ण पालना आवश्यक रहेकोमा जोड दिइयो। सहभागी राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउँदै यसको प्रभावकारी अनुगमन हुनुपर्ने माग गरेका थिए।

छलफलमा मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले निर्वाचन आचारसंहिता तथा उल्लंघन भएमा हुने कानुनी कारबाहीबारे जानकारी गराए। उनले राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमसहित सबै सरोकारवालालाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरे। स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आचारसंहिता मेरुदण्डको रूपमा रहेको उनले बताए। काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पनि आचारसंहिताको पालना बिना स्वच्छ निर्वाचन सम्भव नहुने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे।
काभ्रे क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टिकाभूषण घिमिरेले तोकिएको समयसीमाभित्र मात्र प्रचारप्रसार गर्न दल र सञ्चारमाध्यमलाई आग्रह गरे। पछिल्लो समय एआईको दुरुपयोगमार्फत भ्रामक प्रचार हुन सक्ने सम्भावना बढेकाले त्यसप्रति विशेष सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए।
छलफलमा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाईंले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न पार्टी प्रतिबद्ध रहेको बताए। उनले दलहरूबीच समन्वय गरेर चुनावी प्रचार तालिका बनाइएमा सम्भावित झडप र मुठभेड रोक्न सकिने धारणा राखे। यस्तै नेकपा एमालेका नवराज ढकालले सामाजिक सञ्जालको निगरानी र अनुगमन अझ प्रभावकारी बनाउनुपर्ने बताए। आचारसंहिताको प्रभावकारी कार्यान्वयनले मात्र स्वच्छ र निष्पक्ष निर्वाचन सम्भव हुने उनको भनाइ थियो।
रास्वपाका गुणनिधि सापकोटाले निर्वाचनका क्रममा जनप्रतिनिधिबाट सरकारी सवारीसाधनको दुरुपयोग हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कडा निगरानी आवश्यक रहेको बताए। सबै दल र उम्मेदवारलाई निर्वाचन आयोगले समान व्यवहार गर्नुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा काभ्रे–२ बाट समावेशी समाजवादी पार्टीका उम्मेदवार तथा पारालिंगी उम्मेदवार विनोद लामाले चुनावी प्रचारका क्रममा लैंगिक अल्पसंख्यक समुदाय अपमानित हुने गरेको गुनासो गर्दै सुरक्षाको सुनिश्चितता माग गरे। त्यस्तै काभ्रे–२ की स्वतन्त्र उम्मेदवार आशा तामाङले स्वतन्त्र उम्मेदवारलाई चुनावी प्रचारमा नेपालको झण्डा प्रयोग गर्न दिनुपर्ने माग गरिन्।
अन्य सहभागीहरूले विगतका निर्वाचनमा आचारसंहिता उल्लंघन हुँदा पनि प्रभावकारी कारबाही नभएको गुनासो गर्दै यसपटक भने कडाइका साथ अनुगमन र कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेका थिए।






