वाशिङ्टन डीसी, अक्टोबर १९, २०२५ – अमेरिकाको ५० वटा राज्य र विभिन्न सहरहरूमा शनिबार ‘नो किंग्स डे’ नामक ठूलो प्रदर्शन भएको छ। यो प्रदर्शन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र शासनप्रतिको विरोधमा आयोजना गरिएको हो। आयोजकहरूका अनुसार, करिब २,६०० भन्दा बढी स्थानहरूमा लाखौं मानिसहरू सडकमा उत्रिएका थिए। यो जुन महिनामा भएको पहिलो प्रदर्शनको निरन्तरता हो, जसमा २० लाखभन्दा बढी सहभागी भएको दावी गरिएको थियो।
प्रगतिशील सङ्गठनहरू जस्तै इन्डिभिजिबल, 50501 Movement र मुभअनले यो प्रदर्शनको आयोजना गरेका थिए। प्रदर्शनकारीहरूले ट्रम्पको ‘अधिनायकवादी प्रवृत्ति’, भ्रष्टाचार, आप्रवासन नीति, स्वास्थ्य सेवा कटौती, निर्वाचन हेरफेर र सरकारी बन्दको विरोध गरे। न्यूयोर्कको टाइम्स स्क्वायर, वाशिङ्टन डीसीको पेनसिल्भेनिया एभिन्यू, लस एन्जलस, शिकागो, बोस्टन र पोर्टल्यान्ड जस्ता ठूला सहरहरूमा हजारौं मानिसहरू भेला भए। सानो शहरहरू र गाउँहरूमा पनि सयौं स्थानमा र्याली भएका थिए।
न्यूयोर्क टाइम्सका अनुसार, न्यूयोर्कमा मात्र १ लाखभन्दा बढी प्रदर्शनकारी सहभागी भएका थिए, र प्रहरीले कुनै पनि गिरफ्तारी गरेको थिएन। प्रदर्शनकारीहरूले ‘अमेरिकामा राजा हुँदैनन्’ भन्ने नारा लगाउँदै अमेरिकी झण्डा र ‘नो किंग्स’ प्लेकार्ड बोकेका थिए। वर्षाकोबीच पनि डालास र साल्ट लेक सिटीमा पनि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।
डेमोक्र्याटिक सिनेटरहरू बर्नी सान्डर्स, क्रिस मर्फी, र्याफेल वार्नक, एडम शिफ र चक शुमर लगायतका नेताहरूले पनि र्यालीमा भाग लिए। सान्डर्सले भने, “यो प्रदर्शन केवल एक व्यक्तिको लोभ र संविधानप्रतिको अवहेलनाबारे मात्र होइन, यो अमेरिकी लोकतन्त्रको रक्षा हो।” कनेक्टिकटका सिनेटर मर्फीले ट्रम्पलाई “अमेरिकी इतिहासको सबैभन्दा भ्रष्ट राष्ट्रपति” भने। शिकागोका मेयर ब्रान्डन जोन्सनले भने, “हामी झुक्दैनौं, समर्पण गर्दैनौं, डराउँदैनौं वा अधिनस्थ हुँदैनौं।”
रिपब्लिकनहरूले भने यो प्रदर्शनलाई “अमेरिका-विरोधी” भनेर आलोचना गरे। हाउस स्पीकर माइक जोन्सनले यसलाई “हेट अमेरिका र्याली” भन्दै डेमोक्र्याटहरूलाई “आतङ्कवादी” को आरोप लगाए। तर प्रदर्शनकारीहरूले यसलाई अमेरिकी अधिकारको प्रयोग भनेका छन् । इन्डिभिजिबलकी सह-संस्थापक लेह ग्रीनबर्गले भनिन्, “शान्तिपूर्ण विरोध गर्नु अमेरिकाको सबैभन्दा ठूलो परम्परा हो।”
यो प्रदर्शन ट्रम्पको ७९औं जन्मदिनका अवसरमा जुन १४ मा भएको सैन्य परेडको विरोधमा सुरु भएको थियो। आयोजकहरूले अपेक्षा गरे अनुसार लाखौं सहभागी भएपछि, यसले ट्रम्प प्रशासनको नीतिप्रति ठूलो असन्तुष्टि देखाएको छ। अन्तर्राष्ट्रिय रूपमा पनि लन्डन, म्याड्रिड र बार्सिलोनामा प्रदर्शन भएका थिए।
प्रदर्शन शान्तिपूर्ण रहेको र प्रहरीले न्यूनतम हस्तक्षेप गरेको आयोजकहरूले बताएका छन्। यसले अमेरिकी राजनीतिमा नयाँ बहस चर्काउने अपेक्षा गरिएको छ।






