२०८३ बैशाख १६ बुधबार १२

बुटवलका नगरप्रमुख स्वास्थ्यकर्मी बोकेरै पुगे ६ हजार संक्रमितका घर

रूपन्देही ।

कोरोना महामारीमा नागरिकलाई टेको दिन बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी स्वास्थ्यकर्मी र आयुर्वेद बोकेरै संक्रमितको घरदैलोमा पुगेका छन् ।

कोभिड संक्रमणमा परेर बुटवलमा आइसोलेसनमा बसेका नागरिकलाई घरघरमै पुगेर आयुर्वेद आषधी प्रदान गर्ने र उनीहरूको मनोबल बढाउने काम भइरहेको छ ।

बुटवल उपमहानगरले महामारीका दुवै लहरमा नमुना काम गरेको छ । यसको नेतृत्व नगरप्रमुख गरेका छन् । ‘महामारीलाई जित्ने पहिलो र प्रभावकारी उपाय भनेकै स्वयंको उच्च मनोबल हो रहेछ ।

यसलाई कसरी बढाउन सकिन्छ भनेर घरदैलोमै पुगेर ढाड्स दिने काम सुरु गरिएको हो,’ प्रमुख सुवेदीले भने ।

बुटवल वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र खनाल, सदस्य सुष्मा अर्यालसहित स्वास्थ्यकर्मीलाई लिएर शुक्रबार बिहान देवीनगरको चौराली टोलमा घरमै आइसोलेसन बसेका संक्रमितलाई भेटेर प्रमुख सुवेदीले मनोबल उच्च राख्न आग्रह गरे ।

कुनै पनि स्वास्थ्य समस्या उत्पन्न भए तत्कालै सम्पर्क गर्न स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकसमेतको फोन नम्बर लेखिएको पत्र दिए ।

घरदैलो अभियानमा रहेका प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, उनीहरूलाई सघाउने स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि, कर्मचारी तथा बुटवलका सामाजिक संघ–संस्था र निजी क्षेत्रसमेत छन् ।

संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद औषधी वितरण गर्ने, मनोबल बढाउन स्वास्थ्यलाभको कामना गर्ने काम मुलुकमै नमुना भएको यहाँका सामाजिक संघ–संस्था र नागरिक अगुवाको बुझाइ छ ।

संक्रमित भएर घरमै आइसोलेसनमा बसेकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र उनीहरूको मनोबल उचो राख्न स्वास्थ्यकर्मी लिएर नगर प्रमुखसहितको टोली घरघरमा पुगेपछि यसको अरू पालिकाले समेत अनुसरण गरेका छन् ।

बुटवलले महामारी नियन्त्रणका लागि सञ्चालन गरेको अभियानले संक्रमितको मनोबल बढाउने मात्रै होइन, सबैतिर सकारात्मक सन्देश प्रवाह गरेको पत्रकार महासंघ लुम्बिनीका पूर्वउपाध्यक्ष भरत केसीले बताए ।

हालसम्म करिब ६ हजार जनाको घरदैलोमा पुगेर आयुर्वेद औषधी प्रदान गर्नुका साथै स्वास्थ्य अवस्थाको नियमित जानकारी लिइएको छ ।

समुदायमा स्वास्थ्य समस्याको पहिचान र तिनको समाधानका उपायको खोजी, बुटवल र आसपासमा काम गर्न आएका विभिन्न जिल्लाका मजदुरको अवस्थाको सोधीखोजी एवं उद्दारदेखि राहत वितरणलाई समेत सँगसँगै सञ्चालन गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

बुटवल उपमहानगरमा हालसम्म ९ हजार संक्रमित भएको तथ्यांक छ । अधिकांशले संक्रमण जितेका छन् । संक्रमित भएका, लक्षण देखिएका र कन्ट्याक ट्रेसिङमा परेकाहरूको दैनिक निःशुल्क परीक्षण भइरहेको उपमहानगरको स्वास्थ्य शाखाबाट परीक्षणको समन्वय गरिरहेकी स्वास्थ्यकर्मी गीता पाण्डेले बताइन् ।

आयुर्वेद चिकित्सा नेपालको पुरानो र प्रभावकारी उपचार विधि हो । यसलाई बुटवलले व्यवहारमै उतारेको छ । बुटवलमा संक्रमित भएका करिब ६ हजार जनालाई आयुर्वेद औषधी वितरण गरिएको छ ।

सात्विक भोजन, योगाभ्यास र सकारात्मक सोच राख्न प्रमुखको सन्देशसहितको अपिललाई बुटवलका स्वास्थ्य शाखाका प्रमुख उमादेवी थापा, गीतादेवी पाण्डे, युवराज पाण्डे, कल्पना भट्टराई, वैद्य निरीक्षक यमलाल भुसालसहितका जनस्वास्थ्य अधिकृत र वडा तथा टोल स्तरबाट पनि विभिन्न ठाउँमा सञ्चार गरिएको छ ।

 

सावधानी र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले संक्रमितलाई सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरिरहेका छन् ।
जनस्वास्थ्यको संवेदनशीलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन सबैले स्वनियममा बस्नुपर्ने र मापदण्ड पालना गर्न आग्रह गरिएको हो ।

बुटवलमा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद औषधी वितरण गर्ने क्रममै समुदायलाई स्वास्थ्य मापदण्ड अपनाउन र कुनै पनि प्रकारको लापरबाही नगर्न आग्रह गरिएको प्रमुख सुवेदीले बताए ।

 

 

स्रोतः पालिका खवर

२०७८ जेष्ठ २१, शुक्रबार १४:०७ गते 1 Minute 691 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार