
काठमाडौँ । पत्रकार तथा लेखक बसन्त पराजुलीको नयाँ कृति ‘बखान’ शनिबार राजधानीमा आयोजित भव्य समारोहमा लोकार्पण गरिएको छ। शिखा बुक्सद्वारा प्रकाशित यो गैर–आख्यान तथ्य र घटनामा आधारित छ, जसलाई लेखकले अध्ययन र जीवन्त अनुभवको सेतुका रूपमा प्रस्तुत गरेका छन्।
पुस्तकले ऐतिहासिक व्यक्तित्व स्व. बखानसिंह गुरुङको जीवनलाई केन्द्रमा राखेको छ।लेखक पराजुलीले २००७ सालको परिवर्तनदेखि पञ्चायतकालसम्मको राजनीतिक यात्रा, नेपाली कांग्रेसको संघर्ष, बीपी कोइरालाको समाजवाद र गुरुङले आफ्ना दुई छोराको निधनले भोगेको पीडालाई मार्मिक रूपमा चित्रण गरेका छन्।
समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस्तकले अन्य इतिहासका कृतिहरूमा समावेश नभएका घटनाक्रमलाई उजागर गरेको बताए। बखानसिंह गुरुङको योगदानलाई पुस्तकले जीवन्त रूपमा प्रस्तुत गरेको उनले उल्लेख गरे।कांग्रेसका सह–महामन्त्री जीवन परियारले गुरुङको योगदानलाई पार्टीले औपचारिक सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा बखानसिंह गुरुङकी पनातिनी जानुका गुरुङले आफ्ना बाजेलाई राष्ट्रिय शहीद घोषणा गर्न माग राखिन्।नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, साहित्यकार अमर न्यौपाने, विश्लेषक शंकर तिवारी, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले ‘बखान’ ले नयाँ ऐतिहासिक कालखण्डको जानकारी प्रदान गरेको बताए।
साहित्यकार न्यौपानेले पुस्तकले राजनीतिक परिवर्तनका क्रममा छुटेका घटनाक्रमलाई समेटेको उल्लेख गरे। लेखक पराजुलीले बखानसिंह गुरुङको योगदानलाई साहित्यमार्फत उजागर गर्ने प्रयास गरेको र पुस्तकको मूल्याङ्कन पाठकमा निर्भर रहेको बताए।
लोकार्पण समारोहमा साहित्यकार, पत्रकार, समाजसेवी, प्रबुद्ध वर्ग, प्राध्यापक, शिक्षक र विद्यार्थीको उपस्थिति थियो। यसअघि पराजुलीका ‘कुमाता’, ‘मोम्चो’ लगायत चार कृति प्रकाशित भइसकेका छन्। विगत साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय उनी नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हुन् र हाल चितवनमा पत्रकारिता गरिरहेका छन्।
२०८२ भाद्र ७, शनिबार २२:०५ गते
0 Minutes
57 Views