२०८३ बैशाख १६ बुधबार १२

मृतकका परिवारलाई धुलिखेल नगरपालिकाबाट किरिया खर्च

काभ्रेपलाञ्चोक ।

धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप रु १५ हजार दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ ।

“महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ”, नगरप्रमुख अशोक ब्याञ्जूले भन्नुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाको र सङ्क्रमित परिवारमा देखिने समस्या पहिचान गर्दै स्वास्थ्य सामग्री र औषधि वितरणको काम भइरहेको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता धुलिखेल नगरमा हाल १८८ पुरुषसहित ३११ सक्रिय सङ्क्रमित रहेका छन् । धुलिखेलमा हालसम्म कोरोना भाइरस् सङ्क्रमणबाट २८ को मृत्यु भइसकेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३२५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा २७३ सङ्क्रमण मुक्त भएका छन् भने तीनको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २१५ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये बनेपा नगरमा ३०३, पनौतीमा २०६, पाँचखालमा ३३२, नमोबुद्धमा ११०, मण्डनदेउपुरमा १९० तथा रोशी गाउँपालिकामा १५४, चौँरीदेउरालीमा ५७, तेमालमा १०३, भुम्लुमा २१०, खानीखोलामा ३८, बेथानचोकमा १२० र महाभारत गाउँपालिकामा ८१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

कुल सङ्क्रमितमध्ये ९४ दशमलव ५९ प्रतिशत अर्थात् दुई हजार ९५ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १३६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

 

 

स्रोतः गोरखापत्र अनलाइन

२०७८ जेष्ठ २०, बिहीबार ०४:३४ गते 1 Minute 595 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार