इटहरी । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीसम्बन्धी समस्या समाधन गर्दै नागरिकको जीवनस्तर सुधार्न वर्तमान सरकार केन्द्रित रहेको बताउनुभएको छ ।
आज यहाँस्थित ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को उद्घाटन गर्दै उनले झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गरे । उनले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।
नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरुन् भन्ने सरकारको स्पष्ट उद्देश्य बताउँदै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पु¥याउने रहेको उल्लेख गरे । उनले भने, “देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख लक्ष्य हो ।”
मन्त्री यादवले देशका सबै समुदायलाई समान सेवा पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताए । खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकता पूरा गर्ने, सेवाउन्मुख सामाजिक मन्त्रालय भएकाले नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पु¥याउने उद्देश्यले योजनाबद्ध काम भइरहेका उनले जानकारी गराए ।
“हाम्रो सक्रियता र स्पष्ट परिकल्पना अनुरूप खानेपानी विभागको वित्तीय प्रगतिले ९० प्रतिशत उपलब्धि हासिल गरेको छ । यो हाम्रो कार्यसम्पादन क्षमताको दिगो सुधारको स्पष्ट प्रमाण हो”, मन्त्री यादवले भने ।
आज उद्घाटन गरिएको खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका–१, २, ३, र ५ का चार हजार ३१ परिवारका करिब २२ हजार ७८७ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरीका प्रमुख महेसी महतोले जानकारी दिए । उनका अनुसार यो आयोजनाले स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चिततामार्फत नागरिकको स्वास्थ्य र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्य राखेको छ ।
२०८२ श्रावण ३, शनिबार १९:२० गते
0 Minutes
119 Views






