२०८३ असार १ सोमबार २१

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

काठमाडौँ । नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकामा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ । सेन्टरले आज यहाँ आयोजना गरेको ‘अनुसन्धान सञ्जाल निर्माण’ कार्यक्रममा समावेशी ज्ञानको विकासमा मातृभाषासम्बन्धी सामग्री प्रकाशनको सुरुआत गर्न लागिएको जनाएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा तेजबहादुर कार्कीले अनुसन्धान र खोज तथा यसको प्रकाशनमार्फत ज्ञानको सिर्जना र प्रचारप्रसारमा सेन्टरले सहयोगी निकायका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले संस्थाको प्रभावकारिता पछिल्लो समय सशक्त र प्रभावशाली बन्दै गएको उल्लेख गर्दै अनुसन्धानको क्षेत्रमा यसको पहिचान स्थापित गराउन ऐतिहासिक पहल थालिएको बताए ।
संस्थाका उपाध्यक्ष डा दशरथ न्यौपानेले सेन्टरबाट प्रकाशित बहुविषयक ‘जर्नल’हरूले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरिसकेका उल्लेख गर्दै स्वदेश तथा विदेशमा यसले सकारात्मक प्रभाव परिरहेको जानकारी दिए । उनले जर्नलमा प्रकाशित लेखमा विद्वानहरूको सहभागिता बढ्दै गएको उल्लेख गरे । संस्थाले अब मातृभाषामा शोध प्रकाशन थालनी गर्दै अनुसन्धानको पहुँच विस्तार गर्ने दिशामा नयाँ अध्याय सुरु गरेको उनको भनाइ छ ।
कार्यक्रममा मुलुकका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था तथा शैक्षिक निकायमा आवद्ध विद्वान, अनुसन्धानकर्ता, सरोकार भएका व्यक्तिलगायतले अनुसन्धान, लेख र यसको प्रकाशनलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने धारणा राखे ।
वैज्ञानिक तथा समाजशास्त्रीय अनुसन्धानले राष्ट्रिय नीति निर्माणदेखि व्यवहारिक जीवनमासमेत सकारात्मक प्रभाव पार्ने भन्दै यो दिशामा संस्थाले अघि सारेका पहल प्रशंसायोग्य रहेको वक्ताहरूको भनाइ थियो । राज्यले अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा ठोस कदन नचालेकोप्रति सरोकार भएकाहरूले ध्यानाकर्षण गराएका थिए ।
रिसर्च सेन्टरले बहुविषयक अनुसन्धानमा आधारित जर्नलहरू नियमित रूपमा प्रकाशन गर्दै आइरहेको छ । संस्थाले समाजशास्त्र, व्यवस्थापन, राजनीति, सूचना प्रविधि, वातावरण, स्वास्थ्य, कानुन, शिक्षालगायत विविध क्षेत्रमा आधारित भएर अध्ययन, अनुसन्धानलाई प्राथमिकता दिँदै आएको छ ।

२०८२ श्रावण ३, शनिबार १८:५३ गते 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।