२०८३ असार २ मंगलवार २२

पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ। साइबर क्राइमको मुद्दामा न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई २५ हजार धरौटीमा हिरा गर्न आदेश दिएको हो।

पाठक आज बिहीबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए। आजै बकपत्र गराएर थुनछेक बहस भएको थियो।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको सामग्री युट्युबमा प्रसारण गरेको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरेको थियो।

उक्त कार्यक्रम भिडिओ, स्क्रिनसट, कागजातहरू पनि अभियोग पत्रका साथ पेस गरिएको छ। प्रहरीले पाठकलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।

सोही कारण पाठकको बयानसमेत नगराई अदालतमा अभियोग पत्र बुझाइएको छ। उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत सजाय माग गरिएको छ। उनीविरुद्ध देउवा परिवारले उजुरी दिए पनि अभियोग पत्रमा जाहेरवालाको नाम उल्लेख छैन।

विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुरमा सजाय हुन माग दाबी गरिएको छ।

२०८२ असार १९, बिहीबार २०:२१ गते 0 Minutes 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।