काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजगाईंले गृहमन्त्री र पर्यटन मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवलाई पत्र लेख्दै बजगाईंले गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्रि पाण्डेलाई बर्खास्त गर्न माग गरेका हुन् ।
सभापति देउवालाई लेखेको पत्रमा उनले गृह मन्त्री लेखक र पर्यटन मन्त्री पाण्डेका कार्यशैलीले पार्टीकोका गरिमा र जनविश्वासमा गम्भीर धक्का पुर्याइरहेको बताएका छन् । गृहमन्त्रीकै सचिवालय मानव तस्करी र आप्रवासन दुरुपयोगमा संलग्न देखिउनु गम्भीर भएको उनले लेखेका छन् । यस्तो अवस्थामा नैतिकताले पनि गृहमन्त्रीले राजिनामा दिनुपर्ने उनले सुझाएका छन् । त्यसैगरी पर्यटनमन्त्री पाण्डले पर्यटन क्षेत्रलाई तहस नहस बनाएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको नेतृत्वमा रहेको मन्त्रालयले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था हेर्दा यस्तो लाग्छ कि त्यो ठाउँ तस्करहरूको केन्द्र बनेको छ । विमानस्थलभित्र रहेका दुकान, सेवा प्रदायक, लोडर, क्लिनिङ कम्पनी तथा अन्य धेरै आउटसोर्स कम्पनीका सञ्चालकहरू नै सुन र विदेशी मुद्रा तस्करीमा संलग्न रहेको प्रमाणित भइसकेका मानिसहरूको एप्रोन र जहाजसम्मै एसेस हुने गर्दछ ।






