काठमाडौँ । प्रथम महिला राधिका शाक्यले आफूले राजनीति बुझेको तर राजनीतिमा नआउने स्पष्ट गरेकी छिन् ।
प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित ‘करुणा’ पुस्तक ‘लेखिका राधिका शाक्यको सम्पादकसँगको संवाद’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी शाक्यले विद्यार्थीकालदेखि नै राजनीतिमा केहीहदसम्म आबद्ध भएको र राजनीतिक व्यक्तित्वसँगको विवाह भएपछि मुलुकको राजनीतिक घटनाक्रमबारे राम्रोसँग बुझ्ने अवसर पाए पनि राजनीति गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारिन्
नेपालमा पछिल्ला दिनमा सकारात्मक सोचका साथ काम गर्नेभन्दा नकारात्मक धारणा बनाइ अनावश्यक कुरा काट्ने पक्ष हावी भएको उल्लेख गर्दै उउनले भनिन्, “देशलाई माया गर्ने एक सामान्य नेपाली नागरिक भएर बस्न चाहन्छु, मातृभूमिप्रति कदापि गद्दारी गर्दिन । अब यो उमेरमा राजनीति गर्न जाने पक्षमा म छैन ।”
प्रथम महिला शाक्यले राजनीतिक अस्थिरताको अफवाह फैलाइ सरकारलाई निर्वाध रूपमा काम गर्न नदिनेहरू हावी हुनु मुलुकको ठूलो समस्या भएको जिकिर गरिन् । उनले दिनरात नभनि देश र जनताका पक्षमा काम गर्नेहरूलाई धन्यवादसहित प्रशंसा गर्नुको सट्टा गालिगलौज गरी त्यसैमा रमाउने प्रवृत्ति हावी भइरहे देश कहाँ पुग्ला भनी चिन्ता व्यक्त गरिन् ।
एक प्रश्नको जवाफमा शाक्यले देशको प्रधानमन्त्रीसँग भेट्न, सम्पर्क बढाउन र लाभ लिन खोज्नेहरू हाम्रो समाजमा नहोलान् भन्न नसक्ने धारणा राखिन् । “शक्तिमा भएका हैसियतले मेरो माइतीतर्फका कुनै पनि नातासम्बन्धका कोही–कसैले राजनीतिक लाभ लिएका भए खोजपड्ताल गरी वास्तविकता सार्वजनिक गरिदिनुहुन आमसञ्चरकर्मीसँग अनुरोध गर्दछु”, उउनले भनिन् ।
आफ्नो प्रेरणाको स्रोत श्रीमान् ओली रहेको र उनकै कारण आफूले दुई विषयमा स्नातकोत्तर तहको उपाधि हासिल गर्न सफल भएको उल्लेख गर्दै प्रथम महिला शाक्यले फुर्सद हुनासाथ लेख्न–पढ्न रमाउने र सानैदेखि आफूमा कारुणिक स्वभाव रहेको धारणा राखिन् । श्रीमान् र आफूबीच जीवन र देशलाई हेर्ने दर्शन मिलेकाले पारिवारिक जीवन सहज ढङ्गबाट अघि बढेको उल्लेख गर्दै उनले राति अबेरसम्म अध्ययन–लेखनमा रमाउने प्रधानमन्त्री ओलीको आत्मविश्वासहित स्मरण शक्ति अद्भूत रहेको बताइन् ।
शाक्यले ‘मेरो अनुभूति’ नामक कृति सार्वजनिक भइसकेको जानकारी दिँदै प्राप्त अनुभव र अनुभूतिलगायत आफूसँग भएका सूचना र सन्दर्भ सामग्रीलाई समेटेर पुस्तकका रूपमा तेस्रो कृति ल्याउने बताइन् ।
२०८२ जेष्ठ ५, सोमबार १९:४२ गते
0 Minutes
78 Views






