२०८३ बैशाख १६ बुधबार १५

नोरासँगै नाचे नेपाली

काठमाडौँ । भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पारिन् ।
पहिलोपटक नेपाल आउनुभएकी अभिनेत्री फतेहीले कार्यक्रममा नेपाली कला र आतिथ्यताको बारम्बार प्रशंसा गरिन् । उनले नेपाल र नेपालीबाट आफ्ना गीतले पाएको अपार माया आफ्ना लागि ऊर्जाको स्रोतसहित अविस्मरणीय रहेको बताइन् ।
“नेपाली कलाकारहरूले मेरा गीतमा गर्नुहुने नृत्य प्रस्तुतिसँग राम्रोसँग परिचित छु र उहाँहरूका ‘डान्स क्लिप’हरू पनि हेर्ने गर्छु । मेरा केही नेपाली साथीहरू पनि छन्, मलाई नेपालबाट प्राप्त हुने मायाकाबारेमा उहाँहरूले पनि भन्नुहुन्छ”, अभिनेत्री फतेहीले भनिन् ।
प्रस्तुतिका क्रममा उनले अप्रत्याशित रूपमा नेपाली कलाकार सुशान्त खत्रीलाई मञ्चमा बोलाएर सबैलाई चकित पारिन् ।  त्यसो त कलाकार खत्रीको आगमनबारे दर्शकसँगै आयोजक पनि बेखर थिएँ । ‘मेरो नेपाली साथी जो, धेरै प्रतिभावान् छन्’ भन्दै अभिनेत्री फतेहीले कलाकार खत्रीलाई मञ्चमा स्वागत गरिन् । । दुवैले ‘गेहरा समन्दर’ गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा ‘हुटिङ’ सहित दर्शकले तालि बजाएर धन्यवाद व्यक्त गरेका थिए ।
यतिमात्र नभई सामाजिक सञ्जालमा आफ्ना श्रव्यदृश्य तयार पार्ने (कन्टेन्ट क्रिएटर आर्टिस्ट) गौरव सिटौलालाई दर्शककै भिडमा चिनेर अभिनेत्री फतेहीले मञ्चमा लगिन् । उनीहरु दुईले ‘दिलवर’ मा प्रस्तुति दिए । अभिनेत्री फतेहीका गीतहरूमा आकर्षक र ऊर्जावान् प्रस्तुतिसहितको श्रव्यदृश्य तयार गरेर सामाजिक सञ्जालमार्फत सिटौलाले सार्वजनिक गर्दै आएकी छिन् ।
“म अभिनेत्री फतेहीको ठूलो प्रशंसक हुँ । मैले उहाँको हरेक गीतको नृत्यलाई मञ्च वा श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छु । आजसँगै नाच्न पाउँदा निकै उत्साहित छु”, सिटौलाले भने। आफ्नो २३ सदस्यीय नृत्य टोलीसँग करिब ४० मिनेटसम्म अभिनेत्री फतेहीले लोकप्रिय गीतमा ऊर्जावान् प्रस्तुति दिइन् ।

२०८२ जेष्ठ ४, आईतवार १२:५५ गते 0 Minutes 94 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार