२०८३ असार १ सोमबार २१

टिचिङ अस्पतालमा लिक्विड अक्सिजन ट्यांक जडान: अब अक्सिजन अभाव नहुने

महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक जडान गरिएको छ।

अक्सिजन ट्यांक जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले लिक्विड ट्यांक सञ्चालनमा आए पनि पहिले जस्तो अक्सिजनको समस्या नहुने बताए।

‘लिक्विड ट्यांक सञ्चालनमा आए पनि हामीलाई बाहिरबाट पनि अक्सिजन ल्याउन पर्दैन। अहिले दैनिक सय अक्सिजन सिलिण्डर ल्याइएकोमा ट्यांक आएपछि त्यो पनि ल्याउन पर्दैन’, उनले भने।

निर्देशक काफ्लेले अहिले ट्यांकलाई सञ्चालनमा ल्याउनका लागि प्राविधिक काम चलिरहेको भन्दै दुई तीन दिनमै सञ्चालनमा ल्याउने जनाए।

टिचिङमा ट्यांक जडान गर्ने जिम्मा शंकर ग्यास उद्योगले पाएको छ।

उद्योगका सञ्चालक शंकर अग्रवालले भोलि वा पर्सीसम्ममा टिचिङमा लिक्विड अक्सिजन भरिदिने बताए।

‘ट्यांक जोडिसकिएको छ। अब भोलि वा पर्सी भित्रमा १६ हजार लिटर लिक्विड अक्सिजन भरिदिन्छौं’, अग्रवालले भने।

लिक्विड अक्सिजन ट्यांक धेरै अघिदेखि जडान गर्ने भनिए पनि लिक्विड अक्सिजन बोक्ने ट्यांकर अभाव हुँदा ट्यांक जडान गर्न सकिएको थिएन। साथै ठेक्का लगायत अन्य कागजी प्रकृयामा समेत अलमल हुँदा ट्यांक जडान गर्न ढिला भएको हो।

अन्ततः लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा आउने भएसँगै अस्पतालको अक्सिजन अभावको समस्या हल हुने भएको हो। यसअघि भने अक्सिजनको चरम अभाव हुँदा अस्पतालले बिरामीलाई चाहिए अनुसार अक्सिजन पुर्‍याउन सकेको थिएन।

त्यस्तो अवस्थामा कम अक्सिजन चाहिने बिरामीलाई थोरै अक्सिजन दिई धेरै चाहिने बिरामीलाई अक्सिजन दिएर उपचार गरिएको निर्देशक डा. काफ्ले बताउँछन्।

झण्डै महिनादिन अक्सिजनको अभावसँग जुधेको अस्पतालले अब लिक्विड अक्सिजन ट्यांक आएसँगै यो समस्याबाट पार पाउन लागेको हो। तर पछिल्लो समय बिरामीको चाप समेत घटेकाले अक्सिजन समस्या कम भएको डा. काफ्ले बताउँछन्।

‘अहिले बिरामीको संख्या पनि कम छ। पहिले झण्डै चार सय जना बिरामी रहेकोमा अहिले दुई सय बढी मात्र छन्। त्यसले गर्दा पनि अक्सिजनको समस्या धेरै सहज भएको छ,’ उनले भने।

बिरामीको चाप घटेकै कारण चीनबाट सहयोगमा आएको ५३ वटा लिक्विड अक्सिजन ट्यांकमध्ये १० वटा मात्र खर्च भएको डा. काफ्लेले बताए।

पछिल्लो समय अस्पतालमा कोरोना संक्रमितको चाप घटेको छ। मध्यम समस्या भएका बिरामीहरूको चाप घटेको अस्पतालहरूले जनाएका छन्। यद्यपि सिकिस्त अवस्थाका बिरामीको संख्यामा भने कमी नआएको चिकित्सकहरू बताउँछन्।

 

स्रोत: सेतोपाटी

२०७८ जेष्ठ १७, सोमबार ०८:०८ गते 1 Minute 549 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।