वैशाख । बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु भएको छ । करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्दछन् ।
बर्सेनि चण्डी वैशाख शुक्ल पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिएको छ । जात्राको पहिलो दिन आज बिहानदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजाआराधाना गरी औपचारिक रुपमा जात्राको सुरु भएको हो भने आजैदेखि घरघरमा भोज पनि सुरु गरिएको छ ।
यस्तै आजै राति हनुमान ढोकाबाट ल्याइने तरवार खड्गसँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिने र मत पूजा चिराग यात्रा गरिने स्थानीय मनिष भोछिभोयाले बताए । उनका अनुसार भोलि बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथलाई स्थानीय युवाहरुले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ । भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।
रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।
जात्रा अवधिभर बुढापाकाले टोलटोलमा बसी बिहान–बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध राजचन्द्र श्रेष्ठले बताए । उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ ।
जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । सरकारका तर्फबाटसमेत पूजा गर्ने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएकामा बनेपाली गर्व गर्छन् । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताउछन् । उनका अनुसार जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । रथलाई प्राचीन लायकू दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ । यस्तै तेस्रो दिन अपराह्न मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्छ ।
२०८२ बैशाख २८, आईतवार २०:५६ गते
0 Minutes
63 Views






