काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने कुनै पनि प्रकारका भेदभाव र हिंसा क्षम्य हुन नसक्ने बताउनुभएको छ ।
उहाँले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै महिला अधिकार, सशक्तीकरण, समानता, सम्पूर्ण भेदभव र महिलामाथि हुने हिंसाविरुद्धको सङ्घर्षलाई जारी राख्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले अन्धविश्वास, अज्ञानता वा अन्य कुनै कारणबाट महिला हिंसा, बलात्कार, कुटपिट, एसिड आक्रमण, अपमान, गाली बेइज्जती र कुप्रथाविरुद्ध गाउँ–गाउँसम्म महिलाको क्रियाशीलता अझ बढाउन आग्रह गर्नुभयो ।
उहाँले महिला अधिकारमार्फत समानताको लय समाउने कार्यमा नेपाल विश्वमै उदाहरणीय देश भएको समेत चर्चा गर्नुभयो ।
उहाँले राणा शासनको अन्त्यपछि २००८ सालको नगरपालिका निर्वाचनमै महिलाले मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार पाएको स्मरण गर्नुहुँदै नेपालको वामपन्थी आन्दोलनले निरन्तर महिला मुक्ति र समानताको आन्दोलन उठाएको प्रसङ्गसमेत चर्चा गर्नुभयो ।
बलात्कार र एसिड आक्रमणविरुद्ध कडा कानुन निर्माण गरेर महिला हिंसाविरुद्ध सरकारले कडा नीति लिएको
उहाँले महिला आन्दोलनले नेपालमा फड्को मारेको ऐतिहासिक प्रसङ्ग चर्चा गर्नुहुँदै भन्नुभयो, “नेपालका महिलाले २००८ सालमै जनप्रतिनिधि चुन्ने र चुनिने अधिकार प्रयोग गरिरहँदा कतिपय विकसित मुलुकमा नै महिलालाई मताधिकार दिने कि नदिने भन्ने विषय बहसमै सीमित थियो ।”
प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक आन्दोलनको विकाससँग सामाजिक न्याय र समानताको आन्दोलन सँगसँगै उठेको चर्चा गर्नुभयो ।
पञ्चायतको अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलनपछि सुरुमा पाँच प्रतिशत, त्यसपछि २० प्रतिशत हुँदै अहिले ४१ प्रतिशतसम्म महिला प्रतिनिधि निर्वाचित भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उहाँले महिला हित रक्षा, अधिकारको उपयोग र समानताका लागि सरकार कटिबद्ध रहेको बताउनुभयो । उहाँले बलात्कार र एसिड आक्रमणविरुद्ध कडा कानुन निर्माण गरेर महिला हिंसाविरुद्ध सरकारले कडा नीति लिएको बताउनुभयो ।
महिला हिंसाका घटनामा महिला नै देखिनु दुःखको विषय भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “हाम्रा आमा दिदीबहिनीहरूलाई बोक्सीको आरोप लगाउने भ्रम र अन्धविश्वास समाजमा छ ।
त्यो जानीजानी, स्वार्थ, अहङ्कार र पछौटेपन जे भए पनि त्यो अस्वीकार्य मात्र होइन, क्षम्यसमेत हुन सक्दैन ।”
उहाँले महिलालाई अपमान गर्ने, भेदभाव गर्ने जस्ता प्रवृत्ति पढेलेखेकैमा समेत देखिनु समाजका लागि अझ हानिकारक रहेको धारणा व्यक्त गर्नुभयो ।
महिलाको अधिकार प्राप्तिको सङ्घर्षलाई पुरुषले समेत हरतरहले सघाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।
उहाँले विश्वको वामपन्थी आन्दोलनले महिला समानतालाई सुव्यवस्थित र सङ्गठित रूपमा उठाएको समेत बताउनुभयो ।
स्रोतः गोरखापत्र अनलाइन






