२०८३ असार २ मंगलवार ११

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको नागरिक उड्डयन क्षेत्रमा सुशासन कायम गरी कानुनी पद्धतिलाई बलियो बनाउन विधेयक ल्याइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ को सैद्धान्तिक छलपलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले हवाई क्षेत्रको सुशासन बलियो बनाउँदै यस क्षेत्रमा दक्ष जनशक्तिको प्रबन्ध गर्ने उद्देश्यले विधेयक ल्याइएको स्पष्ट पारे ।
पर्यटनमन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तथा नेपाली हवाई आकाशलाई गतिशील तुल्याउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गरे । “दुई निकायलाई अलग–अलग भूमिका निर्वाह गर्नेगरी विधेयक ल्याउनुको अर्थ पद्धति बलियो बनाउने, सुशासन प्रवर्द्धनका साथै दक्ष जनशक्तिको प्रबन्ध गर्ने हो । यसबाट दक्षता विज्ञता आ–आफ्नो ढङ्गले अभिवृद्धि हुनेछ”, उनले भने ।
मन्त्री पाण्डेले नेपालका अन्तरराष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई चलायमान बनाउन तथा नेपाली आकाशलाई गतिशीलरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र उपयुक्त प्रयोजनका लागि नीति र कानुन बनाउनुपर्ने भएकाले प्रभावकारी र कार्यान्वयनमुखी संरचनाका लागि विधेयक अगाडि बढाइएको उल्लेख गरे । उनले  प्रस्तुत विधेयकले कर्मचारीको अहिले भएको सेवासुविधा नघट्ने गरी विधेकयमा प्रबन्ध गरिने स्पष्ट पारे ।
“हिजोदेखि नै संशोधनको कार्य प्रारम्भ भएको र आजदेखि ७२ घण्टे अवधिमा थुप्रै संशोधनका प्रस्ताव आउनेछन्”, मन्त्री पाण्डेले भने, “मन्त्रालय वा सरकार कुनै किसिमको जडता नपालीकनै संशोधनहरूमाथि सार्थक संवाद गर्न तयार छ । विधेयकलाई समृद्ध बनाउने दिशामा दृढ सङ्कल्पका साथ अगाडि बढौँ ।” उनले विधेयकमा सकारात्मक उपलब्धि प्राप्ति गर्ने दिशामा सबै सरोकारवालासँग पनि छलफल गरिने विश्वास व्यक्त गरे ।

२०८२ बैशाख १५, सोमबार १७:१७ गते 0 Minutes 80 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।