काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले पनि मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताएकी छिन् ।
सुदूरपश्चिम प्रदेश, नीति तथा योजना आयोगद्वारा आज काठमाडौँमा आयोजित आर्थिक वर्ष २०८२र०८३ का लागि सङ्घीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तरक्रियामा उनले यस्तो बताइन् ।
कार्यक्रममा मन्त्री डा राणाले भनिन् “प्रादेशिक तुलना गर्दा नेपालको मानव विकास सूचकाङ्कमा सुदूरपश्चिम प्रदेश धेरै तल छ । मलाई लाग्छ हाल छैठौँ स्थानमा रहेको अवस्थामा उल्लेख्य सुधार गरेर माथि ल्याउने गरी हामीले आगामी योजना, कार्यक्रमहरू निर्माण र त्यसैबमोजिम बजेटको व्यवस्था गर्नुपर्दछ ।”
उनले कनिका छरेजस्तो गरी अनेक शीर्षकमा बजेट छुट्याउनेभन्दा पनि कुन समुदायलाई प्रत्यक्ष या अप्रत्यक्ष लाभ पुग्छ र कुन क्षेत्रको विकास हुन्छ भनेर विश्लेषणसहित ठोस् योजना तथा कार्यक्रम तय र तिनलाई तोकिएको समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउनुपर्ने सुझाव दिइन् ।






