२०८३ असार २ मंगलवार १६

सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको बैठकमा उनले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन’मा केन्द्रित दलका सांसदहरुलाई निर्देशन दिए ।
“सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसनमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्र्याक्क भएका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नुहुँदैन”, प्रधानमन्त्री ओलीले भने, “मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित बजेट निर्माण गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित छ । हल्लाको पछाडि कोही लाग्नुपर्दैन ।”

प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधान विरोधी गतिविधि गरेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिँदै संसदीय दलका नेता नेता ओलीले अवाञ्छाति गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउन सरकार पछि नपर्ने बताए ।

अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसद्बाट पारित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरुको आशमा नभई आफैले गर्नतिर लाग्नुपर्ने बताए ।
‘एमाले मिसन २०८४’ मार्फत बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरण हुन लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा उनले जोड दिए ।

२०८२ बैशाख १३, शनिबार १८:३५ गते 0 Minutes 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।