२०८३ बैशाख १६ बुधबार ०९

फेसबुकमा पूर्व डिएसपीकाे यस्तो हर्कत ! मेयर भन्छन्: कानूनी उपचारमा जान्छौँ

काभ्रे- अन्यत्रैको फोटो फेसबुकमा राखेर नमोबुद्ध नगरपालिकाका नगरप्रमुख हो भन्दै किटान गरी गलत स्टटस लेखेर भ्रम सिर्जना गर्न खोज्ने पूर्व डिएसपीको हर्कतप्रति नमोबुद्ध नगरपालिकाले आपत्ति जनाएको छ ।

स्टाटस लेख्ने कृष्ण शिवाकोटी नेपाल प्रहरीका डिएसपी हुन् भने उनको घर झापा हो । शिवाकोटीले आफ्नो फेसबुक वालमा पोष्ट गरिएको उक्त स्टाटसमा भनिएका व्यक्ति र फोटोमा देखिएका व्यक्ति भने फरक हुन् ।

‘हुँदै नभएको कू प्रचार गरेर नगरपालिका र मेरो बदनाम गर्न गरिएको यो ग्राण्ड डिजाईन हो, यसविरुद्ध हामी कानूनी रुपमा अगाडि बढ्छौं’

फोटोमा नमोबुद्ध नगरपालिकाका नगरप्रमुख देखिंदैनन् । फोटो नमोबुद्ध नगरपालिकाको नभएको पालिकाले जनाएको छ । तर, नमोबुद्ध नगरपालिकाका नगरप्रमुखको नाम जोडेर यसरी स्टाटस लेखेकोप्रति नगरले आपत्ति जनाएको हो ।

फोटोमा के छ ? 

बेडमा बिरामी महिला छिन् । सँगै उनका आफन्त छन् । उनलाई दुईजनाले एक एक वटा फ्रुटीको प्याकेट हातमा दिंदैछन् भने अर्का एक युवाले फ्रुटी दिएको फोटो खिचिरहेका छन् ।

यहि फोटो राखेर विरामीलाई नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले राहत बाँडे भनेर लेखिएको छ । तर, यो फोटो न नमोबुद्ध नगरपालिकाभित्रको हो, न त फोटोमा नमोबुद्धका नगरप्रमुख शर्मा देखिएका छन् ।

नगरप्रमुख शर्माले भने, ‘नियोजित रुपमा बद्नाम गर्न खोजेको देखियो, हामी कानूनी उपचारमा जान्छौं ।’

प्रहरीकै बद्नामी

डिएस्पी समेत रहेका कृष्ण सिवाकोटीले यतिसम्म सोच्न सकेनन् कि कोरोनाको यस्तो जटिल परिस्थितिमा राहत बाँडिएको हो भने त्यहाँ पक्कै मास्क लगाइएको हुन्छ ।

तर, फोटोमा कतै मास्क लगाएकाहरुको उपस्थिती देखिंदैन । पूर्व डिएसपी भइसकेका शिवाकोटीबाट भएको यस्तो अक्षम्य अपराधप्रति नगरवासी पनि आक्रोशित बनेका छन् ।

‘हुँदै नभएको कू प्रचार गरेर नगरपालिका र मेरो बदनाम गर्न गरिएको यो ग्राण्ड डिजाईन हो, यसविरुद्ध हामी कानूनी रुपमा अगाडि बढ्छौं’ कोरोना पोजेटिभ भएर घरमा आराम गरिरहेका नमोबुद्धका नगरप्रमुख शर्माले भने, ‘अरुबेलामा त आक्रमण गरे गरे तर यस्तो विरामी भएर बसेको बेलामा पनि केही कमजोरी नपाएर मानसिक आक्रमण गर्ने दानवीय सोच भएका व्यक्तिको पर्दाफास अब हुनेछ ।’

 

कानूनले भन्छ- ५ बर्ष कैद, १ लाख जरिमाना

सामाजिक सञ्जालको दुरुपयोग गरी घृणा, द्वेष फैलाउने कार्य गर्नेविरुद्ध विद्युतीय कारोवार ऐन २०६३ आकर्षित हुन्छ । दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेविरुद्ध उपदफा १ ले भन्छ, ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

सोही दफाको उपदफा २ ले यस्ता कसूर पटक पटक गरेमा त्यस्तो कसुर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय तोकेको छ ।

प्रहरी आचारसंहिता विपरित

फेसबुकमा नेपाल प्रहरीको डिएस्पी लेखिएको र बर्दि समेत लगाइएको तश्विर राखिएको छ । प्रहरी आचारसंहिताले बर्दिसहित सामाजिक सञ्जालमा राख्न र सार्वजनिक विषयमा टिकटिप्णी गर्न निषेध गरेको छ ।

तर, प्रहरी आचारसंहिताको समेत बर्खिलाप हुने गरी डिएस्पी शिवाकोटीले सामाजिक सञ्जालमा निरन्तर यस्ता हर्कत गर्दै आएको उनका स्टाटसले देखाएका छन् ।

नमोबुद्धबासी आक्रोशित

फोटो सार्वजनिक भएपछि नमोबुद्ध नगरपालिकाका नागरिक आक्रोशित बनेको छन् ।

यस्ता हर्कत गरेर नगरपालिकालाई नै बद्नाम गराउन खोज्नेहरुलाई कारवाही गर्न नगरपालिकालाई दबाब दिइरहेका छन् । उनीहरुले नगरप्रमुख शर्मा र नगरपालिकामा फोन गरेरै दवाव दिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले भने तत्काल प्रमाण जुटाएर कानूनी उपचार जाने बताएको छ ।

 

स्रोतः पालिका खवर

२०७८ जेष्ठ १५, शनिबार ०६:५० गते 1 Minute 1560 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार