काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई अझ समृद्ध र बलियो बनाउनु पर्ने बताएका छन् । हजारौ वर्ष सम्म नेपाली समाज अँध्यारोमा रहेको स्मरण गर्दै अझै पनि त्यसतर्फ लैजान खोज्ने तत्व रहेको भन्दै सचेत रहन आग्रह गरे । काठमाडौंको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल लामो समय अन्धकारबाट गुज्रिएको भन्दै अब त्यो सम्भव नभएको बताए ।
राजशाही र राणा शासनको दोहोरो चेपुवामा परेको भन्दै त्यसको अन्त्य गर्दै लोकतन्त्र आएको बताए । जेलनेल भोगेर आएको लोकतन्त्रले समृद्धि ल्याएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले अब युवाहरुले देशलाई अगाडि बढाउनु पर्ने बताए ।
जन्मदै श्रेष्ठता पाउने पाखण्डी सिद्धान्त सामान्ती युग भएको भन्दै क्षमताका आधारमा मात्रै नेतृत्वमा आउनुपर्ने बताए । अझै पनि लोकतन्त्र नमान्ने, जनताको बलिदानलाई नमान्ने प्रवृत्ति भएको भन्दै त्यस्ता शक्तिलाई परास्त गर्न युवाहरुलाई निर्देशन दिए । राजावादीहरुले सञ्चार गृह, पार्टी कार्यालयमा आगजनी गरेर जंगली र तानाशाही संस्कृति देखाएको बताए ।
समृद्ध नेपाल सुखी नेपाली लोकतन्त्रमा मात्र सम्भव हुने भएकाले लोकतन्त्रलाई संस्थागत गर्न युवाहरुले भुमिका खेल्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । जेष्ठ नागरिकदेखि सडकसम्मको अभिभावक सरकार भएको प्रधानमन्त्रीको भनाइ छ । भड्कावपूर्ण तरिकाले देशलाई अराजकता तर्फ लैजान खोज्नेप्रति सचेत रहन पनि प्रधानमन्त्रीको आग्रह थियो । केही मानिसलाई सामाजिक सञ्जालमा खटाएर पेड रुपमा भ्रम फैलाउने काम भएको छ । युवाहरुले यसमा सचेत भएर अस्वीकार गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए । साथै अबको समय युवाहरुको भएको हुनाले युवामा लगानी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।






