२०८१ फाल्गुन २ शुक्रबार ११

सुदुरपश्चिम रोयल्स ७२ रनले विजयी, पहिलोपटक हार्यो जनकपुर बोल्ट्स

काठमाडौं । सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले जितेको छ । कडा प्रतिस्पर्धाकारुपमा हेरिएको सुदुरपश्चिम रोयल्स र जनकपुरबीच बोल्ट्सको खेल रोमाञ्चक हुने आशा गरिएपनि जनकपुर बोल्ट्स निर्धारित ओभर सकिनु अघि अलआउट हुँदै ७२ रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ब्याटिङ ‘कोल्याप्स’ हुँदा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२ दशमलब१ ओभरमा ५१ रनमै समेटियो । योसँगै प्रतियोगितामा जनकपुरले सबैभन्दा कम योगफलमा समेटिने टिमको खराव कीर्तिमानसमेत बनाएको छ । यसअघि यो कीर्तिमान पोखरा एभेन्जर्सको नाममा थियो ।

सुदूरपश्चिमविरुद्ध जनकपुरका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । जनकपुरको खातामा जोसुवा ट्रोम्पले सबैभन्दा धेरै १३ रन बनाए । यसबाहेक, जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरका स्कोरबोर्डमा १७ रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो । जनकपुरका कप्तानसमेत रहेका अनिल साह सात बल खेल्दा रन नबनाइ पभेलियन फर्किए । अर्का ओपनर आसिफ सेखले पनि चार रनमात्रै थप्न सके । ललित राजवंशीले चार रन जोड्दा किशोर महतो शून्यमा अविजित रहे ।

यसपछिका चार विकेट जनकपुरले ३७ रन जोड्दा गुमायो । जनकपुरका लहिरु मिलान्था सात, हर्ष थाकेर पाँच, जिम्मी निसम चार र सुभ कंशाकार शून्यमा पभेलियन फर्किए । यस्तै, अर्निको यादवले पनि टिमको स्कोर बोर्डमा एक रनमात्र थप्न सके ।

आठौं ब्याटरको रुपमा पभेलियन फर्किएका शेर मल्ल पनि ‘डक’ भए ।

जनकपुरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हर्मित सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका हर्मितले दुई मेडन फ्याक्दै दुई रनमात्र खर्चिए । उनले जनकपुरका अर्निको यादव र जोसुवा ट्रोम्पलाई पभेलियनको दिशा देखाएका थिए । यस्तै, सैब जैब, नरेन साउद र स्कट कुग्गेलेनको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल खडा गरेको थियो ।

 

२०८१ मंसिर २६, बुधबार १३:०७ गते 1 Minute 86 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।