२०८१ फाल्गुन २ शुक्रबार ११

सुदुरपश्चिमको शानदार जीत

 

काठमाडौं । सुदूरपश्चिम रोयल्सले एनपीएलको आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको छ ।
सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६.१ ओभरमा ९२ रनमै अलआउट भयोे ।

विराटनगरका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । टिमबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका बसिर अहमेदले २४ रन जोडे । उनले २८ बलमा दुई चौका प्रहार गरे । राजेश पुलामीले १५ बलमा एक छक्कासहित १५ रन थपे । अनिल खरेल १० रनमा अविजित रहे ।

यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान सन्दीप लामिछानले आठ, इस्मात आलमले ६, निकालेस किर्टोन र दीपक बोहराले समान पाँच रन बनाए । लोकेश बमले दुई र प्रतिश जिसीले एक रन जोड्दा क्रिस सोलले नौ रन बनाए ।

यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाएका ओपनर मार्टिन गप्टिल भने आज ‘गोल्डेन डक’ भए ।

विराटनगरलाई सस्तैमा समेट्न सुदूरका स्कट कुगेलेन र अभिनाश बोहराले समान तीन विकेट लिए । ब्रान्डन म्याकमुलम, सैब जैबले र इशान पाण्डेले एक–एक विकेट लिए ।

पहिलो इनिङः कप्तान दीपेन्द्रको आक्रामक अर्धशतक

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८२ रन बनाएको थियो । यो जारी प्रतियोगिताकै सबैभन्दा ठूलो योगफल हो । यसअघि सोमबारको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १४१ रन बनाउनु नै अहिलेसम्मको ठूलो योगफल थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले २४ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । योसँगै दीपेन्द्र जारी प्रतियोगितामा अर्धशतक बनाउने चौथो ब्याटर बने । उनीहरु जनकपुरका दुई ब्याटर लहिरु मिलान्था र अनिल साहसँगै विराटनगरकै मार्टिन गप्टिलले अर्धशतक बनाएका थिए । दीपेन्द्र प्रतियोगितामा अर्धशतक बनाउने दोस्रो नेपाली ब्याटर बने । यसअघि कर्णालीविरुद्ध ६२ रन बनाउँदै जनकपुरका अनिल प्रतियोगितामा अर्धशतक बनाउने पहिलो नेपाली ब्याटर बनेका थिए ।

८९–५ को स्थितीमा ब्याटिङमा आएका दीपेन्द्रले छैटौँ विकेटका निम्ति इशान पाण्डेसँग २५ बलमा ४९ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिङ सम्हालेका थिए । १७औँ ओभरको पाँचौ बलमा आउट हुुनुअघि इशानले १६ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाए । इशानलाई विराटनगरका विकेटकिपर लोकेश बमले रनआउट गरेका थिए ।

सुदूरपश्चिमले पहिलो इनिङको अन्तिम ६ ओभरमा ८५ रन बनाएको थियो । खेलको १४ ओभरसम्म सुदूरपश्चिमले पाँच विकेट गुमाएर ९७ रन बनाएको थियो ।

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले ३६ रन जोडे । १३औँ ओभरको चौथो बलमा आउट भएका उनले २६ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । म्याकमुलमलाई अनिल खरेलले प्रतिश जिसीबाट क्याच गराउँदै पभेलियनको दिशा देखाएका थिए ।
प्रतियोगितामा विराटनगरको भने यो लगातार दोस्रो हार हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटले पराजित भएको थियो ।

२०८१ मंसिर १८, मंगलवार १३:३४ गते 1 Minute 76 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।