२०८१ फाल्गुन २ शुक्रबार १०

पूर्वउपराष्ट्रपति पासाङ माओवादी पदाधिकारी बैठकमा सहभागी

काठामाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय हुनथालेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको योजनाअनुसार उनी माओवादी राजनीतिमा फर्किएका हुन् ।

१६ गते (सोमबार) बसेको माओवादीको पदाधिकारीको बैठकमा पासाङ सहभागी भएर सक्रिय राजनीतिको सुरुवात गरेका छन् । अध्यक्ष प्रचण्डको निवासमा बसेको पदाधिकारी बैठकमा पुन सहभागी भएका स्रोतले बताए ।

स्रोतले भने, ‘पूर्वउपराष्ट्रपति अध्यक्षलाई भेट्न आउनुभएको थियो । उहाँ दुवै जना भेटवार्ता गरिरहँदा बैठक सुरु भयो । अध्यक्षले नै एकछिन बैठकमा बसेर जानुहोस् न त भन्नुभयो । आमन्त्रित सदस्यको रूपमा बैठकमा सहभागी हुनुभयो ।’

स्रोतका अनुसार सोमबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले नै बोलाएर नै पासाङ आएका हुन् । प्रचण्डका विश्वासपात्र मानिने पुन लगभग सात वर्ष उपराष्ट्रपति भएका थिए ।

उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए । २०७९ को निर्वाचनपछि आफ्नो दोस्रो कार्यकाल सकिएसँगै उनी निष्क्रिय रहँदै आएका थिए । सिङ्गो माओवादी एक हुँदा चौथो नम्बरमा रहेका श्रेष्ठ माओवादी विभाजनसँगै तेस्रो हुँदै दोस्रो नम्बरमा पुगेका छन् । तर, पासाङको माओवादीमा इन्ट्रीसँगै पुनः श्रेष्ठ तेस्रो नम्बरमा झर्न सक्ने चर्चा माओवादीमा सुरु भएको छ ।

पासाङले पनि उपराष्ट्रपतिको समयावधि सकिएपछि माओवादी केन्द्रको सक्रिय राजनीति गर्ने इच्छा प्रचण्डसँग राख्दै आएका स्रोतहरू बताउँछन् ।

स्रोतले भन्यो, ‘उहाँले पहिलादेखि नै राजनीतिमा आउन चाहनुभएको थियो । तर, वातावरण नमिलेर आउनुभएको थिएन । अब सक्रिय राजनीतिमा आउनुहुन्छ । बैठकमा सहभागी हुनुभएको संयोग परेर होइन, योजनाबद्ध हो ।’

विशेष गरी रोल्पा, रूकुम क्षेत्रको राजनीतिक सन्तुलनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पासाङलाई पहिलो नम्बरको उपाध्यक्षको भूमिकामा ल्याउने तयारी गरेको स्रोतको दाबी छ । माओवादी दशवर्षे जनयुद्धका बेला जनमुक्ति सेनाको कमाण्डर र लोकप्रिय नेताको रूपमा स्थापित भएका पासाङलाई पुनः राजनीतिमा स्थापित गराउने तयारी प्रचण्डको छ ।

उपराष्ट्रपति बन्दा पार्टीको भूमिकाबाट बिदा लिनुपर्ने प्रावधान छ । त्यहीअनुसार पासाङले पनि राजनीतिबाट बिदा लिएका थिए । तर, पछिल्लो समयमा उनी सक्रिय राजनीतिका लागि प्रचण्डसँग सरसल्लाहमा नै थिए । सोमबार बैठकमा नै सहभागी भएपछि पासाङ सक्रिय राजनीतिमा फर्केको माओवादीका नेताहरू बताउँछन् ।

२०८१ कार्तिक २८, बुधबार २१:३३ गते 0 Minutes 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।