काठमाडौं । आईसीसी यू–१९ विश्वकप छनोटमा नेपाल लगातार दोस्रो पटक विजयी भएको छ । नेपालले कुवेतलाई १ सय ८ रनको फराकिलो अंकले हराएको हो ।
नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रन बनाउदै सबै विकेट गुमाउदै पराजित भएको हो । नेपालका लागि रचना चौधरी र सीमा केसीले समान २ विकेट लिए।
पूजा महतो, कृष्मा गुरुङ र मनिषा उपाध्यायले समान १ विकेट लिए ।
त्यसअघि दुबईको अजमानस्थित द सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३० रनको योगफल तयार पारेको थियो।
नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रनको योगदान दिइन्। सना प्रधानले २५ रन थपिन्। ज्योत्सिना मरासिनी २३ र अलिसा यादव १५ रनमा पेभेलियन फर्के।
नेपालले २४ गते युएई र २५ गते पुनः थाइल्यान्डसँग खेल्नेछ।
चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।
यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ।
एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ।






