२०८३ असार ५ शुक्रबार १४

क्यानडालाई हराउँदै अर्जेन्टिना लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । पहिलो सेमिफाइनलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै साविक विजेता अर्जेन्टिना कोपा अमेरिका–२०२४ को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार अमेरिकाको मेटलाईफ रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई फाइनल पूर्याउन हुलियन आल्भारेज र कप्तान लियोनल मेसीले गोल गरे । अर्जेन्टिनाले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो ।

मेटलाईफ रंगशालामा उपस्थित ८० हजार १०२ जना दर्शकमाझ आल्भारेजले २३औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । रोड्रिगो डि पाउलले मैदानको मध्यभागबाट निकालेको पासलाई नियन्त्रणमा राख्दै आल्भारेजे १८ यार्ड बक्सभित्रबाट गोल क्यानडाको गोलकिपरलाई ‘बिट’ गरेका थिए । अर्जेन्टिनाबाट ३५ खेल खेलेका आल्भारेजको यो नवौँ अन्तर्राष्ट्रिय गोल हो ।

यस्तै, ५१औँ मिनेटमा कप्तान मेसीले गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो । जारी प्रतियोगितामा मेसीको यो पहिलो गोलसमेत हो । यो गोलसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । मेसीले इरानका अली दाई (१०८) लाई उछिनेका हुन् । मेसीले हाल अन्तर्राष्ट्रिय खेलमा १०९ गोल पूर्याएका छन् । मेसीअघि रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले १३० गोल गरेका छन् ।

मेसीपछि यसपछि थप गोल हुन नसक्दा अर्जेन्टिनाले २–० को जितसहित लगातार दोस्रो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । १५ पटकको च्याम्पियन अर्जेन्टिना समग्रमा ३०औँ पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाले प्रतियोगिताको पछिल्लो आठ संस्करणमध्ये छैटौँ पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०२१ मा भएको प्रतियोगिताको फाइनलमा ब्राजिललाई हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको थियो ।

अर्जेन्टिनाले अब उपाधिका निम्ति उरुग्वे र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

२०८१ असार २६, बुधबार १२:०० गते 0 Minutes 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।