२०८३ असार ३ बुधबार १२

युवा फरवार्ड यमल चम्किँदा स्पेन १२ वर्षपछि युरो फाइनलमा, फ्रान्स बाहिरियो

काठमाडौं । युवा फरवार्ड लामिन यमलको उत्कृष्ट प्रदर्शनप्रेरित स्पेनले फ्रान्सविरुद्ध २-१ को जित निकाल्दै युरो–२०२४ को फाइनलमा स्थान सुनिश्चित गरेको छ ।

मंगलबार राति जर्मनीको म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न खेलमा फ्रान्सले पहिले अग्रता बनाए पनि जोगाउन सकेन । खेलको आठौँ मिनेटमा रान्डाल कोलो मुआनीको गोलमा फ्रान्सले अग्रता बनाएको थियो । कप्तान किलियन एमबाप्पेको क्रसमा ६ यार्ड बक्सभित्र रहेका मुआनीले हेडर गोल गर्दै डिडियर डेसच्याम्प्सको टिमलाई अग्रतामा राखेका थिए ।

तर, दुई पटकको च्याम्पियन फ्रान्सको अग्रता लामो समय टिक्न भने पाएन । स्पेनका १६ वर्षीय युवा फरवार्ड लामिन यमलले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काए । लामिनले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार सेकेन्ड बारको ‘टप कर्नर’ गोल भएको थियो । यो गोलसँगै यमल युरोपियन च्याम्पियनसिपको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने ।

यसको चार मिनेटपछि नै स्पेनले सन् २०१८ को विश्वकप विजेताविरुद्ध २–१ को अग्रता बनायो । स्पेनका ड्याली ओल्मोले गरेको प्रहार फ्रान्सका रक्षक जुलेस काउन्डेबाट ‘डिफ्लेक्ट’ हुँदै गोल भएपछि तीन पटकको च्याम्पियन स्पेनले अग्रता बनाएको हो ।

पहिलो हाफको २५ मिनेटभित्रै तीन गोल भए पनि दोस्रो हाफ गोलरहित समाप्त हुँदा स्पेन २-१ को जितसहित १२ वर्षपछि युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।

स्पेन यसअघि सन् २००८ र २०१२ को लगातार युरोपियन च्याम्पियन बनेको थियो । त्यसअघि स्पेनले सन् १९६४ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

२०८१ असार २६, बुधबार ११:५८ गते 1 Minute 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।