२०८३ असार ३ बुधबार १२

फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सबीच महाभिडन्त, हेड टु हेडमा को छ अगाडि ?

काठमाडौं । युरो कप २०२४ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सको सामना गर्दै छ । यी दुई टिमबीचको खेल एलियान्ज एरिनामा नेपाली समय अनुसार मंगलबार राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

मैदान उत्रिँदा दुवै टिमको एउटै उद्देश्य हुनेछ, जित निकाल्ने र उपाधि यात्रामा होमिने । तुलनात्मक रूपमा लयमा देखिएको स्पेनलाई रोक्न फ्रान्स पुरानै लयमा फर्किनुपर्नेछ । त्यसमा पनि स्टार खेलाडी केलियन एम्बाप्पे उनको आफ्नो पुरानो लयमा फर्किएर प्रदर्शन गर्नुपर्नेछ ।

एम्बाप्पेमा भर पर्नुपर्ने अवस्थामा रहेको फ्रान्सले स्पेनलाई हराउन जादुमयी प्रदर्शन गर्नुपर्ने देखिन्छ । फ्रान्सले जारी युरो कपमा अपेक्षाअनुसार खेल्न सकिरहेको छैन । समूह चरणका तीन र क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदासम्म फ्रान्सले एम्बाप्पेले गोल गरेबाहेक अरु गोल गर्न सकेको छैन । फ्रान्सले समूह चरणमा कुनै खेल नहारे पनि गोल भने निकाल्न सकेको थिएन ।

फ्रान्सको प्रदर्शनलाई लिएर समर्थकहरूले आलोचना गरिरहेका छन् । फ्रान्सको रक्षापंक्ति मजबुत देखिए पनि मिडफिल्ड र फिनिसिङमा भने चुकिरहेको छ । अस्ट्रियाविरुद्धको खेलमा नाकमा चोट बोकेपछि एम्बाप्पे स्वाभाविक लयमा देखिएका छैनन् ।

यो युरो कपमा सबैभन्दा लयमा देखिएको टिम हो, स्पेन । स्पेनले लगाता पाँच जित निकालेको छ । तर, फ्रान्सको सामना गर्दा स्पेनसँग मुख्य खेलाडी पेड्री, रोबिन ले नोरमन्ड र डानी कार्भाजल टिममा हुने छैनन् । पेड्री जर्मनीविरुद्धको खेलमा चोट बोक्न पुगे भने नोरमन्ड दोहोरो पहेँलो कार्ड र कार्भाहल जर्मनीविरुद्धको खेलमा रातो खाएकाले मैदानमा हुने छैनन् ।

स्पेनले सन् सन् २००८ र २०१२ को युरो कप जितेको थियो । त्यसपछि भने युरो कप जित्न सकेको छैन । फ्रान्सले भने पछिल्लो १२ वर्ष युरो कपमा राम्रो प्रदर्शन गर्न सकेको छैन । यो अवधिमा सन् २०१६ मा फाइनल पुगेको फ्रान्स पोर्चुगलसँग १-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

हेड टु हेडमा को अगाडि ?

फिफा वरीयतालाई हेर्ने हो भने फ्रान्स दोस्रो स्थानमा छ । स्पेन भने नेदरल्यान्ड्सभन्दा पछाडि आठौँ स्थानमा छ । तर, हेड टु हेडका आधारमा भने स्पेन अगाडि छ । स्पेन र फ्रान्स अहिलेसम्म ३६ पटक भिडेका छन् । जसमा स्पेनले १६ खेलमा जित हात पार्दा फ्रान्सले १३ खेल जितेको छ । ७ खेल भने बराबरीमा सकिएको छ । स्पेन पछिल्ला पाँच खेलमा अपराजित छ भने फ्रान्सले दुई खेल जित्दा तीन खेलमा बराबरीमा रोकिएको छ ।

२०८१ असार २५, मंगलवार १०:३६ गते 1 Minute 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।