नमोबुद्ध ।
नमोबुद्ध नगरपालिकाले फलफुल व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्य सहित किसानहरुलाई फलफुलका विरुवा वितरण गरेको छ । नमोबुद्ध नगरपालिका कृषि विकास शाखाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार फलफुल प्रवर्द्धन कार्यक्रम (नँया बगैंचा निर्माण तथा पुराना बगैंचा सुदृढीकरण) अन्तर्गत विभिन्न उन्नत जातका फलफुल बालीहरुको गुणस्तरयुक्त विरुवा एक कार्यक्रमको आयोजना गरी वितरण गरेको छ ।
नगर प्रमुख कुनसाङ लामाले राम्रो एवं गुणस्तर बगैंचा निर्माण गरी निरन्तर फलफुल खेती गर्ने किसानहरुलाई नगरपालिकाले आगामी दिनहरुमा सहयोग थप्दै लगिने कुरामा विश्वस्त पारे । उत्कृष्ट बगैचा निर्माण गर्न सके यसको क्षेत्र विस्तारमा समेत पछी नहट्ने कुरा थपे ।
प्रमुख प्रशासकीय अधिकृत शेष कान्त पौडेलले कृषकहरुले फलफुल खेतीलाई व्यवसायीकीकरण गर्न सके नसोचेको आम्दानी लिन सकिने र यसको निरन्तरताबाट मात्रै सफलता प्राप्त हुने हुँदा कृषकहरूलाई दृढ संकल्पकासाथ अघि बढ्न प्रोत्साहन गरे । नमोबुद्ध नगरपालिका सदैव किसानको पक्षमा रहेको हुँदा किसानको हर प्रकारको समस्या समाधानका लागि तत्पर रहेको कुरा समेत जाहेर गरे ।
नगरपालिकाबाट २०८० फागुन १६ गते प्रकाशित सूचनाको आधारमा आवेदनहरु संकलन गरेको थियो । प्राप्त आवेदनहरुको स्थलगत अनुगमन गरी प्राविधिक प्रतिवेदन र आर्थिक विकास समितिको बैठकको आधारमा मिति २०८१ बैशाख ०६ गते छनौट भएका विभिन्न १७ वटा कृषक/कृषि फर्म/कृषक समुह/कृषि सहकारीहरुलाई भौगोलिक उपयुक्तताका आधारमा उन्नत जातका एभोकाडो १८५ बोट, सुन्तला बिजु र कलमी गरि ५६० वटा, कागती कलमी र बिजु गरि ११३६ वटा , लप्सि १०० वटा, जुनार २० वटा, आँप ६६, लिचि ११३, अम्बा ४०, अनार २७०, सरिफा ३०० वटा र कफि १०० बोट गरि कुल जम्मा २८९० वटा बिरुवा वितरण गरेको छ ।
परम्परागत कृषि प्रणालीबाट नगरपालिका आधुनिक कृषि प्रणालीतर्फ उन्मुख भइरहेको छ । आधुनिक कृषि मार्फत कृषकहरूले मनग्य आम्दानी गर्न सकिने हुँदा यस प्रकारको प्रणाली अवलम्बन गर्न कृषकहरूलाई कृषी शाखाका प्रमुख नवीन अधिकारीले सुझाव दिए । कृषकहरुलाई प्रोसाहित गर्न यस्तै प्रकारका थुप्रै कार्यक्रमहरुको आयोजना सहित प्राविधिक क्षेत्रमा हरवखत सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।












