काठमाडौं । कोपा अमेरिका–२०२४ को क्वार्टरफाइनल खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेसीका उपस्थिती अनिश्चित बनेको छ ।
अर्जेन्टिनाले प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा शुक्रबार बिहान इक्वेडरविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ । तर, समूह चरणको दोस्रो खेलमा ह्यामस्ट्रिक चोट बोकेका मेसीको क्वार्टरफाइनल उपस्थिती अन्योल बनेको हो । उनले चोटकै कारण समूह चरणको अन्तिम खेल गुमाएका थिए । मेसी मैदानबाट बाहिर रहे पनि अर्जेन्टिनाले उक्त खेल २–० ले जितेको थियो । सोही चोटका कारण मेसीको क्वार्टरफाइनल खेल्ने सम्भावना अनिश्चित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसीबारे अझै पनि शंका रहेको बताए ।
“हामी अझै केही समय पर्खिनेछौँ र त्यसपछि निर्णय गर्नेछौँ । हामी आज पाउने प्रतिकृयाको आधारमा मेसीबारे निर्णय गर्नेछौँ । हामी मेसी टिमसँगै हुन भन्ने चाहन्छौँ । यदी उनी भएनन् भने हामी टिमलाई आवश्यक अन्य उत्कृष्ट कुराहरुमा ध्यान दिनेछौँ,” स्कालोनीले भने ।
जारी प्रतियोगितामा अर्जेन्टिनाले तीन खेल खेले पनि मेसीले हालसम्म गोल गर्न सकेका छैनन् ।






