२०८३ आश्विन १ बिहीबार ०२

कोपा अमेरिका : ब्राजिललाई गाह्रो, अर्जेन्टिनालाई सहज प्रतिद्वन्दी

काठमाडौं । समूह चरणको अन्तिम खेलमा ब्राजिल र कोलम्बियाको खेलसँगै अमेरिकामा जारी कोपा अमेरिका–२०२४ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

बुधबार बिहान लेभिस रंगशालामा भएको खेलमा १–१ को बराबरी खेल्दै अंक बाँडेपछि दुवै टिमले क्वार्टरफाइनलमा स्थान निश्चित गरे । कोलम्बिया समूह ‘डी’ को विजेता बन्दा ब्राजिल समूह उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको अन्तिम–८ मा साविक विजेता अर्जेन्टिनासँगै, ब्राजिल, उरुग्वे, कोलम्बिया, इक्वेडर, भेनेजुयला, क्यानडा र पानामाले स्थान बनाएका छन् । प्रतियोगिताका क्वार्टरफाइनल खेलहरु जुलाई ५ देखि सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडरविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना समूह ‘ए’ को विजेता र इक्वेडर समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम–८ मा प्रवेश गरेका हुन् ।

यस्तै, भेनेजुयलाले क्यानडाविरुद्ध खेल्नेछ । भेनेजुयला समूह ‘बी’ को विजेता र क्यानडा समूह ‘ए’ को उपविजेता हुन् ।

समूह ‘सी’ को विजेता उरुग्वेले समूह ‘डी’ को उपविजेता ब्राजिलसँग खेल्ने भएको छ । यी दुई टिमबीचको खेल जुलाई ७ मा हुनेछ ।

समूह ‘डी’ को विजेता कोलम्बियाले समूह ‘सी’ को उपविजेता पानामासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको ४८औँ संस्करण जारी रहँदा अर्जेन्टिना र उरुग्वे यो महादेशीय प्रतियोगिताको सबैभन्दा सफल टिम हुन् । यी दुवै टिमले हालसम्म समान १५ पटक प्रतियोगिताको उपाधि जितेका छन् । यस्तै, ब्राजिलले हालसम्म नौ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । पेरु, चिली र पराग्वेले समान दुई पटक उपाधि जित्दा कोलम्बिया र बोलिभियाले समान एक पटक प्रतियोगिताको उपाधि जितेका छन् ।

२०८१ असार १९, बुधबार ११:०९ गते 0 Minutes 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।