काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखिसुरु भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा केहीबेर अघि महाधिवेशन सुरु भएको हो ।
पाँच दिनसम्म हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने नेकपा एसले जनाएको छ ।
महाधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजमोका अध्यक्ष चित्रबहादुर केसीले लगायतले सम्बोधन गरेका थिए । महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि काठमाडौँ आएका छन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट करिब तीन वर्षअघि विभाजन भएर गठन गरिएको पार्टीले यो महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले हालसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर यो राष्ट्रिय महाधिवेशनलाई १०औँ मानेको बताएको छ ।






