२०८३ असार ५ शुक्रबार ०६

भारतले १७ वर्षपछि जित्यो ट्वान्टी–२० विश्वकपको उपाधि, दक्षिण अफ्रिका सात रनले पराजित

काठमाडौं । फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारत ले आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले अपराजित रहँदै विश्वकपको उपाधि जितेको हो । ट्वान्टी–२० विश्वकपको इतिहासमा कुनै पनि टिम अपराजित रहँदै विश्व च्याम्पियन बनेको पहिलो पटक हो । भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले सन् २००७ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो ।

शनिबार ब्रिजटाउनमा सम्पन्न खेलमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६९ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम दुई ओभरमा २० रनको आवश्यकता थियो । १९औँ ओभर बलिङका लागि भारतीय कप्तान रोहित शर्माले अर्शदीप सिंहलाई जिम्मेवारी सुम्पिएका थिए । अर्शदीपले सुरुआती दुई बल डट फ्याके पनि तेस्रो बलमा दक्षिण अफ्रिकाका केशव महारेजले एक रन लिए । चौथो बलमा स्ट्राइकमा रहेका डेविड मिलरले दुई रन लिएका थिए । पाँचौ बलमा मिलरले पुनः एक रन लिएका थिए । तर, अर्शदीपले अन्तिम बल डट फ्याकेपछि दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक बनेको थियो ।

भारतबाट अन्तिम ओभर बलिङका लागि हार्दिक पन्ड्याले जिम्मेवारी पाएका थिए । पन्ड्याको पहिलो बलमा मिलरले छक्काको प्रयास गरे पनि बाउन्ड्री लाइनमा सूर्यकुमार यादवबाट क्याच आउट भएका थिए । हार्दिकको दोस्रो बलमा क्रिजमा आएका कगिसो रबाडाले चौका प्रहार गरेपछि दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम चार बलमा १२ रन आवश्यक थियो । तेस्रो बलमा रबाडाले एक रन लिए । चौथो बलमा पनि महारेजले एक रन लिँदा दक्षिण अफ्रिकालाई दुई बलमा १० रन आवश्यक थियो । पाँचौ बल हार्दिकले वाइड फालेका थिए । पुनः पाँचौ बलमा हार्दिकले रबाडालाई सूर्यबाट क्याच गराएपछि दक्षिण अफ्रिकाको सम्भावना सकिएको हो । अन्तिम बलमा एनरिक नोर्ट्जेले एक रनमात्र लिँदा भारत सात रनको जितसहित विश्व च्याम्पियन बनेको हो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले ५२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । ओपनर क्विन्टन डी ककले ३९ रन जोडे । ट्रिस्टान स्टब्सले ३१ र डेविड मिलरले २१ बनाए ।

क्लासेन र मिलरले १०६–४ को अवस्थाबाट पाँचौ विकेटका लागि ४५ रनको साझेदारी गर्दा दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ३० बलमा ३० रनको आवश्यकता थियो । तर, १७औँ ओभरको पहिलो बलमा हार्दिकले क्लासेनलाई विकेटकिपर ऋषब पन्तबाट क्याच गराएपछि खेलमा भारत हाबी बनेको हो ।

भारतलाई विश्व च्याम्पियन बनाउन हार्दिक पन्ड्याले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका बुमराहले २० रन खर्चिए । अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई विकेट लिए । अक्षर पटेलको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो ।

भारतबाट ओपनर विराट कोहलीले ७६ रन बनाएका थिए । उनले ५९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कोहलीले ३४–३ को अवस्थाबाट अक्षर पटेलसँग चौथो विकेटका निम्ति ७४ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पटेलले ३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन बनाए ।

कोहलीले १०६–४ को अवस्थाबाट पाँचौँ विकेटका निम्ति ५७ रनको साझेदारी गरेपछि भारत बलियो योगफलसम्म पुगेको हो । शिवम दुवेले १६ बलमा तीन चौका र एक छक्कासहित २७ रन जोडे ।

दक्षिण अफ्रिकाका केशव महारेज र एनरिक नोर्ट्जेले दुई÷दुई विकेट लिए । मार्को जान्सेन र कगिसो रबाडाले समान एक विकेट लिए ।

 

२०८१ असार १६, आईतवार ०७:०२ गते 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।