काठमाडौं । क्यानडाविरुद्ध २–० को जित निकाल्दै साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका–२०२४ मा विजयी सुरुआत गरेको छ ।
शुक्रबार मर्सिडिज बेन्ज रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन हुलियन आल्भारेज र लौटारो मार्टिनेजले गोल गरे ।
अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ४९औँ मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । यस्तै, ८८औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका हुन् । मार्टिनेज अल्भारेजकै स्थानमा मैदान प्रवेश गरेका थिए ।
जितसँगै तीन अंकसहित अर्जेन्टिना समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै पराजित क्यानडा भने तालिकाको पुछारमा छ । यो समूहमा अर्जेन्टिनासँगै पेरु, चिली र क्यानडा छन् ।
प्रतियोगिताको यस संस्करणमा कुल १६ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहकबाट शीर्ष दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।






