२०८३ असार ५ शुक्रबार ०३

अस्ट्रेलिया डीएलएसअनुसार २८ रनले विजयी, कमिन्सले लिए ह्याट्रिक विकेट

वर्षाका कारण प्रभावित बनेको आईसीसी टी–२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा अस्ट्रेलियाले बंगलादेशविरुद्ध डकर्वथ लेविस पद्दति ९डीएलएस० अनुसार २८ रनको जित निकालेको छ ।

शुक्रबार बिहान एन्टिगोवास्थित सर भिभियन रिचार्ड्स रंगशालामा भएको खेलमा प्याट कमिन्सले ह्याट्रिक लिँदा टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा १४० रनमात्र बनाएको थियो । १४१ रनको लक्ष्यसहित मैदान उत्रिएको अस्ट्रेलियाले ११।२ ओभरमा दुई विकेट गुमाएर १०० रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । यसपछि पुनः सञ्चालन हुन नसक्दा अस्ट्रेलिया डीएलएसअनुसार २८ रनले विजयी भएको हो ।

अस्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले ५३ रन बनाए । उनले ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छक्कासहित ३१ रन थपे । ग्लेन म्याक्सवेल १४ रनमा अविजित रहे । बंगलादेशका लागि दुवै विकेट रिसाद हुसैनले लिए ।

त्यसअघि बंगलादेशका कप्तान नज्मुल हुसैन सान्टोले ४१ रन बनाएका थिए । तोहिद हृदोयले ४० रन थप्दा लिटोन दासले १६ र तास्किन अहमेदले १३ रन बनाए ।

बंगलादेशलाई मध्यम योगफलमा रोक्न अस्ट्रेलियाका प्याट कमिन्सले ह्याट्रिक लिए । कमिन्सले १८औँ ओभरको अन्तिम दुई बल र २०औँ ओभरको पहिलो बलमा लगातार विकेट लिँदा जारी विश्वकपमै ह्याट्रिक लिने पहिलो बलरसमेत बने । टी–२० विश्वकपको इतिहासमा भने यो सातौँ ह्याट्रिक हो ।

बंगलादेशविरुद्ध कमिन्सबाहेक, एडम जाम्पाले दुई विकेट लिए । मार्कुस स्टोइनिस, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगितामा अस्ट्रेलिया समूह ‘बी’ को विजेता र बंगलादेश समूह ‘डी’ को उपविजेता बन्दै सुपर–८ मा आएका हुन् ।

२०८१ असार ७, शुक्रबार १२:०७ गते 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।