सहकारी ठगी तथा बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सुरुछलफल गरेको छ । बुधबार संसद भवन परिसरमा बसेको संसदीय छानविन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोगलगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीसँग परामर्श गरेको बताए ।
सम्बन्धित मन्त्री र सम्बद्ध सबै निकायका पदाधिकारीसँग छलफल गरिएको र सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी छानबिनका लागि महत्वपूर्ण जानकारी प्राप्त भएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । बैठकमा समस्याग्रस्त २० वटा सहकारी संस्थाका पदाधिकारीहरूले सो सम्बन्धमा लिखित जानकारी गराएका थिए ।
सोही जानकारीको आधारमा अब आफ्नो कामलाई तीव्रता दिने विशेष समितिले जनाएको छ । बैठकमा विशेष समितिले दुरुपयोग भएका बचतकर्ताहरूको ५ लाखसम्मको रकम फिर्ता गर्ने सरकारको बजेटसम्बन्धी कार्यक्रम लागू गर्ने बारेमा पनि मन्त्री अधिकारीसँग छलफल गरेको थियो । बजेट वक्तव्यमार्फत ५ लाख रकमसम्मको बचतकर्ताको बचत फिर्ता गर्ने विषयमा पनि सहकारीमन्त्रीसँग छलफल गरिएको विशेष समितिका सभापति थापाले बताए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि सहकारीको बचत रकम दुरुपयोगमा संलग्न रहेको आरोप लगाउँदै त्यसको छानबिनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने नेपाली कांग्रेसले माग गरेपछि एमालेका सांसद थापाको नेतृत्वमा विशेष समिति बनाइएको हो ।
विशेष समितिले ३ महिनाभित्रको समयावधि भित्र आफ्नो काम सक्नेगरी कार्यादेश बनाएको र सोही अनुसारको छलफलको कामलाई निरन्तरता दिने सभापति थापाले बताए ।






