प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इद (अल–अजहा) को सन्दर्भमा शुभकमाना दिँदै नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन योगदान पुर्याएको बताएका छन् ।
इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा सोमबार शुभकामना दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको प्रधानमन्त्रीद्धारा जारी विज्ञप्तीमा लेखिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका छन् । ’
आपसी सद्भावको चाडको रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने पनि प्रधानमन्त्रीले बताएका छन् ।







