२०८३ असार ५ शुक्रबार ०२

अमेरिका पठाइदिने भन्दै पाँच करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडाैँ ।

नेपाल प्रहरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका २ का टासी शेर्पा, जिल्ला सिन्धुपाल्चोककै वर्ष ४२ का साविक कर्थली गा.वि.स. १ का ङिमबुटी शेर्पा र जिल्ला सिन्धुपाल्चोककै जुगल गाउँपालिका १ की वर्ष १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले पाँच करोड ५० लाख रुपियाँ रकम ठगी गरेको पाइएको छ । यो गिरोहले करिव १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिब सात करोड ५० लाख रकम लिएको खुल्न आएको बताउनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले फरक घटनामा स्रोत नखुलेको ९८ लाख रुकमसहित दुई जनालाई पक्राउ गरेको बताउनुभयो ।

उहाँले काठमाडौँ महानगरपालिका ५ मालिगाउँ क्षेत्रमा मिलन बिकसमेतका केही व्यक्तिलाई पनि हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको बताउनुभयो । उहाँले पक्राउ पर्नेमा वर्ष २८ का समिर सुनार र वर्ष २९ का मिलन बिक रहेको जानकारी दिनुभयो । उनीहरु दुवैजना रुपन्देही सियारी गाउँपालिका ७ का रहेको उहाँको भनाइ छ ।

उनीहरुको साथबाट ९८ लाख स्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारी साधन बरामद भएको बताउनुभयो ।

गोरखापत्र अनलाइनबाट

२०८१ बैशाख २८, शुक्रबार १७:०१ गते 0 Minutes 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।