नमोबुद्ध ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाले कृषकहरुलाई प्लाष्टिक टनेल वितरण गरेको छ । नमोबुद्ध नगरपालिकाले तरकारी विकास कार्यक्रम अन्तर्गत कृषि व्यवसायमा आवद्ध कृषि फर्म, कृषक समूह र कृषि सहकारीहरुलाई प्लाष्टिक टनेल, थोपा सिंचाइ सेट र मल्चिङ प्लाष्टिक वितरण गरेको छ ।
विगतका वर्षहरुमा नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई विभिन्न कृषि सम्बन्धी तालिमहरु समेत उपलब्ध गराउँदै आएको थियो । यस आ.व. २०८०/०८१ को लागि नगरपालिकाले प्लाष्टिक टनेल निर्माण गर्न चाहने कृषकहरुलाई आवेदन दिन सूचना मार्फत आह्वान गरेको थियो । प्राप्त आवेदकहरुले हालसम्म गरेका कार्यहरुको विषयमा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकमा स्थलगत अनुगमन गरेको थियो । सोही आधारमा कृषकहरुको छनौट गरेको थियो ।

छनौट भएका ५५ वटा आवेदकहरुको लागि नगरपालिकाले क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको थियो । तालिम पश्चात सहभागीहरुले प्लाष्टिक टनेलको संरचना निर्माण स्वयम् तयार गर्नुपर्ने प्रावधान थियो । सोही अनुरुप सम्बन्धित वडा कार्यालयले अनुगमन गरी सिफारिस गरेका कृषकहरुलाई नगरपालिकाले सामाग्री वितरण गरेको छ ।
कृषकहरुलाई बेमौसमी तरकारी खेती प्रविधि सम्बन्धी अभिमुखीकरण तथा कृषि सामाग्री हस्तान्तरण कार्यक्रम आयोजना गरी ११२ वटा प्लाष्टिक टनेल, ५८ सेट थोपा सिंचाई र ५८ वटा मल्चिङ्ग प्लाष्टिक हस्तान्तरण गरेको छ । नगर प्रमुख कुनसाङ लामाले अध्यक्षता गरेकाे सो कार्यक्रममा वडा नं. ०१ का वडा अध्यक्ष एवं आर्थिक विकास समिति सदस्य प्रेम बहादुर तामाङ र वडा नं. १० का वडा अध्यक्ष एवं आर्थिक विकास समिति सदस्य रामकृष्ण उपाध्याय, आर्थिक विकास समिति सदस्य रेशम बहादुर दाहाल र नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले भने, “अहिले हस्तान्तरण गरिएका सामाग्रीहरु नमुनाको रुपमा तपाईहरुलाई प्रदान गरिएको हो र थप क्षेत्र विस्तारको लागि नगरपालिकाले अझै प्रोत्साहन गर्ने छ । कृषिलाई नै मुख्य पेशा बनाएर अघि बढेका कृषकलाई नगरपालिकाले सदैव प्राथमिकतामा राखी सहयोग गर्नेछ । ”
त्यस्तै आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ०३ का वडा अध्यक्ष रमेश तिवरीले किसानहरुलाई सामाग्रीहरुको सहि सदुपयोगबाट आयस्रोत वृद्धि गर्न सकिने र यसको निरन्तरताले व्यवसायिक कृषिमा थप योगदान पुग्ने हुँदा सबै कृषकहरुले प्रविधिलाई अपनाउँदै अघि बढ्न सुझाव दिए ।

उक्त सामाग्रीहरु नगर प्रमुख कुनसाङ लामाले ११ वटै वडाका कृषकहरुलाई वितरण गरेका हुन् । कृषि शाखाका प्रमुख नविन अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।






