हेटौंडा ।
सुन तस्करमा संलग्न रहेका दुईजना चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा एकजना अधिकृतलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उनी हाल बागमती प्रदेशसभा सचिवालयमा कार्यरत छन् । पक्राउ पर्नेमा रामचन्द्र अर्याल रहेका छ्न् ।
काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले जिम्मा लगाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । ‘नागरिकता सम्बन्धी मुद्दामा अर्याललाई पक्राउ गरी काभ्रे प्रहरीको जिम्मा लगाएको छ,’ उनले भने ।
तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वि.सं. २०७५ पुस २० मा जिल्ला प्रशासन कार्यलय काभ्रेले वंशजका आधारमा नागरिकता प्रदान गरेको थियो ।
अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए ।






